कागती खेती र कोभिड कृषि कार्यक्रममा अनियमितता

हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिकामा कागती खेती र कोभिड कृषि कार्यक्रममा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले सञ्चालन गरेको कागती प्रवद्र्धन कार्यक्रममा गाउँपालिकाका कृषि शाखाका कर्मचारीले अनियमितता गरेको पाइएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा कागती प्रवद्र्धन कार्यक्रम संचालन गरेको थियो भने ५ नम्बर प्रदेश सरकारले कोभिड कृषि विशेष कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले कागती खेतीको लाख २२ लाख ५० हजार र ५ नम्बर प्रदेश सरकारले कोभिड कृषि कार्यक्रमको लागि २० लाख विनियोजन गरेको थियो । त्यो रकममा गाउँपालिकाका कृषि शाखाका प्रमुख यज्ञश्वर भारतीले अनियमितता गरेको पाइएको हो । उनले कागती खेती प्रवद्र्धन कार्यक्रममा तालिम संचालन गर्नुपर्ने बजेटमा तालिम संचालन नै नगरी बिल भरपाइ मिलाएको तथा मेसिनरी औजार खरिदमा अनियमितता गरेको पाइएको स्थानीय युवा भगत खड्काले जानकारी दिए ।
कोभिड कृषि विशेष कार्यक्रमअन्तरगत प्रतिव्यक्ति २० हजार (बराबरमा सामग्री वा नगद) का दरले एक सय जना किसानलाई वितरण गर्नुपर्ने थियो । तर कार्यक्रममा उनी आफैँले टनेल लगायतका १३ हजार बराबरका सामग्रीहरु खरिद गरी किसानहरुलाई वितरण गरेका छन् । उक्त कार्यक्रमबाट प्रतिकिसान सात हजारका दरले कुल सात लाख रुपैँया अनियमितता गरेको खड्काले आरोप लगाए ।
भारतीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले वडा नम्बर ५ का अध्यक्ष कलानिधी भण्डारीको संयोजकत्वमा पाचँ सदस्यीय छानविन समिति पनि गठन गरेको छ । समितिले १५ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण महतले संलग्न बिल भरपाइको आधारमा भुक्तानी दिएको दाबी गरे ।
उनले अन्य विषयमा आफू पनि धेरै जानकार नभएको भन्दै कुल ४२ लाख ५० हजार भुक्तानी भएको बताए । गाउँपालिकाको कृषि शाखाबाट अनियमितता भएको प्रारम्भिक अनुसन्धान देखिएकोले छानविन समिति गठन गरिएको र अन्य जानकारी समितिले दिने बताए । गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले समितिले अनियमितता भएको प्रतिवेदन बुझाए अनियमितता गर्ने जो कोहीलाई कारवाही गर्ने बताए ।