Logo कार्तिक ११, २०७७ मंगलबार


को-को बन्दैछन् नयाँ मन्त्री ?

नरेश न्याैपाने / टिप्पणी

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको वर्तमान मन्त्रिमण्डल पुनर्गठनको बहस आजसम्म चलिरहेकै छ ।

प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी मन्त्रीहरुको चयन गर्दा सरकारका काम कारबाहीमा प्रभावकारीता नदेखिएको र योग्य नेताहरुलाई मन्त्रिमण्डलमा समावेश गराउनु पर्ने माग उठेपछि चर्किएको विवाद पुनर्गठन गर्ने सहमतिपछि साम्य बनेको थियो ।

हुन त नेकपामा अन्तरसंघर्षताका पार्टी संगठन परिचालन, प्रदेश सरकार हेरफेर, आगामी महाधिवेशन र सरकार तथा पार्टीको सम्बन्ध निर्माण लगायतका ज्वलन्त विषयमा समेत व्यापक बहस भएको थियो । उठेका सबै विषयमाथि नेताहरु बीच शुरुमा विवाद, त्यससँगै संवाद, कार्यदल निर्माण र त्यसलगत्तै स्थायी समितिको बैठक बसेर तयार पारिएको मापदण्ड बमाेजिम दुई अध्यक्ष अघि बढ्ने सहमति बनेको थियो ।

नेताहरुबीच विवादित विषय समाधान गर्ने सहमति र त्यसको प्रक्रिया एवं विधिमा सहमति भएर झण्डै फुटको संघारमा पुगेको पार्टी जोगिनु मात्रै कठिन अन्तरसंघर्ष पछिको एकमात्रै उपलब्धि जस्तो देखिएको छ । तर विवादित विषय अथवा असन्तुष्ट नेताहरुको मागबारे भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी भूमिका पाउने बाहेक अरु कुनै विषयमा व्यवहारिक कार्यान्वयन हुन सकिरहेको छैन ।

पार्टीले महाधिवेशन केन्द्रित गतिविधि अघि बढाउनु पर्ने, एकताका बाँकी काम टुंग्याउनु पर्ने, पार्टी सदस्यता वितरणमा तिव्रता दिनुपर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला नेताहरु जनताका लागि कत्ति पनि रुचिकर नमानिने मन्त्री पदको वरिपरि घुमिरहेको जस्तो देखिन थालेको छ । यसले जनतामा मात्रै नभई त्यस पार्टीका नेता/कार्यकर्ता पंक्तिमा समेत उदासिनता बढाइरहेको छ ।

मन्त्रिमण्डल पुनगर्ठनमा माथापच्ची
विवादका अन्य गम्भीर विषयको निरुपण गर्नेबारे मौन देखिएका नेकपाका नेताहरुको अहिलेको मुख्य ध्यान मन्त्रिमण्डल पुनगर्ठनमा बढी केन्द्रित छ । कुन नेता नजिकका, कुन समूहका, कुन तहका र कस्तो – कस्तो योग्यता भएका नेताहरु मन्त्री बन्दैछन ? भन्ने विषयले पार्टी पंक्तिलाई तताइरहेको छ ।

राष्ट्रिय सभा सदस्यमा नियुक्त भएलगत्तै परेको एक रिटले शक्तिशाली मन्त्रीका रुपमा सरकारमा प्रवेश गर्ने विश्लेषण हुँदै आएका उपाध्यक्ष वामदेव गौतमको चर्चा सेलाउँदै गएको छ । तर गत संघीय निर्वाचनमा पराजित भई हाल राष्ट्रिय सभामै रहनुभएका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सरकारमा सामेल हुनसक्ने नेकपा वृतमा चर्चा छ ।

वास्तवमा मन्त्रिपरिषदमा २ वर्ष कार्यकाल पुगेका मन्त्रिहरुलाई बिदाई गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच भइरहेको माथापच्ची नटुंगिदा पुनर्गठनमा ढिलाई भइरहेको सहजै अनुमान गर्न सकिन्छ । यदि २ वर्ष पुरा गरेकालाई विदा गर्नेमा अध्यक्षद्वयबीच सहमति भए उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षामान पुन, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री बिना मगर, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतका २ वर्ष पार गरेका मन्त्रीहरुले विदा हुनुपर्नेछ । यद्दपी यही विषयमा सहमति हुन नसकेकाले पुनर्गठनको समय लम्बिरहेको छ ।

को – को बन्दैछन् नयाँ मन्त्री ?
को-को विदा हुँदैछन मन्त्रीबाट ? भन्ने बहस चलिरहँदा को-को बन्दैछन् नयाँ मन्त्री ? भन्ने बहसले त झन सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापकता पाइरहेको छ । नेकपाका एक स्थायी समिति सदस्यका अनुसार सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसहित पार्टीमा प्रभावशाली मानिने र पुराना सरकारहरुमा समेत सफलता हासिल गरेको विश्लेषण हुने पूर्व नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मालार्ई यो पटक नेकपाले मन्त्री बनाउने प्रबल सम्भावना छ ।

लामाे समयदखि अर्थ, सूचना तथा सञ्चार र शहरी विकास मन्त्रालय हाल प्रधानमन्त्री आफैले सम्हाल्नु परिरहेकाे र केही मन्त्रालय टुक्राएर दुई, तिन वटा थप मन्त्रालय बनाइने तयारी पनि चलिरहेकाले यो पटक एक दर्जन बढी नयाँ नेताहरु मन्त्री बन्ने सम्भावना देखिन्छ ।

नयाँ बन्ने मन्त्रीहरुमा स्थायी समिति सदस्य पम्फा भुसालदेखि पछिल्लो पटक भएको उपनिर्वाचनबाट निर्वाचित सांसद विद्या भट्टराई सम्मको चर्चा छ । त्यस्तै भारतद्वारा भूमि अतिक्रमण भइरहने सुदरपश्चिमको दार्चुलाका सांसद गणेश सिंह ठगुन्नालाई मन्त्री बनाउने प्रधानमन्त्रीले तयारी गरिरहनुभएको हल्ला छ ।

सरकारबाट आफ्ना विश्वासिला पात्रहरु सुरुमा गोकुल बाँस्कोटा, त्यसपछि डा. युवराज खतिवडा र अहिले फेरि प्रदीप ज्ञवाली पनि विदा हुनुपर्ने अवस्था आउन लागेकोले युवा नेताहरु महेश बस्नेत र खोटाङका सांसद विशाल भट्टराईलाई मन्त्रिमण्डलमा लैजाने प्रधानमन्त्रीले तयारी गर्नुभएको चर्चा प्रधानमन्त्रीको समूहमा रहेका नेताहरुमा चल्ने गरेको छ ।

उता कार्यकारी अध्यक्ष प्रचण्डले उर्जामन्त्री पुन र खानेपानी मन्त्री मगर फिर्ता आए आफ्नो समूहमा प्रभावशाली मानिने नेताहरु जनार्दन शर्मा र पम्फा भुसाललाई अघि सार्ने लगभग पक्का जस्तै छ ।

त्यस्तै तेस्रो धार अर्थात आजको नेकपामा निर्णायक शक्ति मानिने र वरिष्ठ नेताहरुसमेत रहनुभएको अर्काे समूह भने यो पटक नेताहरु सुरेन्द्र पाण्डे वा भीम रावल मन्त्रिमण्डलमा समावेश हुनेमा ढुक्क देखिन्छ । यो समुहले पाण्डे र रावलमध्ये सके दुवैजना नत्र एक जना मन्त्री बनाउन जोड गर्ने र पछिल्लो पुस्ताबाट ओखलढुंगाका सांसद यज्ञराज सुनुवारलाई अघि सार्ने तयारी गरेको छ ।

विदा नहुनेहरु
सम्भवत: नेकपाले दुई वर्ष कार्यकाल नबिताएका मन्त्रीहरुलाई विदा गर्ने छैन । त्यसो हुँदा कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, कानून मन्त्री शिवमाया तुम्बाहाम्फे, भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ विदा हुने छैनन् ।

तर २ वर्ष कार्यकाल पुरा भएपनि परराष्ट्र मन्त्री ज्ञवाली र भूमिसुधार मन्त्री पद्मा अर्याललाई भने विदा नगर्ने सोचमा प्रधानमन्त्री रहनुभएको देखिन्छ । केही मन्त्रालय टुक्राएर भएपनि उहाँहरुलाई यथावत राख्ने प्रधानमन्त्रीको योजना रहेको स्रोत बताउँछ ।

यद्दपी मन्त्रिमण्डल पुनर्गठनको सवालमा २ वर्षको समयावधि पुरा गरेकालाई हटाउने कुनै वैधानिक समझदारी नेताहरुले गरेका छैनन । त्यसैले प्रधानमन्त्री बाहेक जुनसुकै मन्त्री परिवर्तन हुन सक्ने सम्भावना पनि छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स