चाडपर्वको मुखैमा काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुसुनसान देखिएका छन् । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको हो ।
विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारका केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द छन् । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका छन् ।
खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बाजरमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसै पनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ ।
ठमेल क्षेत्र आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकीय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइएको छैन । त्यसैले पर्यटकलाई लक्षित गरी खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।