भानु नगरपालिकाको केन्द्र अन्यत्र नसार्न सर्वोच्चकाे अन्तरिम आदेश

तनहुँ । जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अहिले कायम रहेको नगरपालिकाको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तत्काल नसार्न भनेको हो ।
नगरपालिकाको निर्णय विरुद्ध वडा नम्बर २ का अध्यक्ष अर्जुनबहादुर केसीले रिट निवेदन दर्ता गराउनुभएको थियो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले असोज १६ गते तत्काल अन्यत्र नसार्न अन्तरिम आदेश दिँदै छलफलका लागि दुवै पक्षलाई २९ गते बोलाएको छ ।
नगरपालिकाको केन्द्र सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् ।
वडा नम्बर २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरबासीहरुलाई सहज बाटोको व्यवस्था भएकाले पनि कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने स्थानीयको भनाइ छ ।
अहिले कायम रहेको वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय, गत असोज १ गतेबाट वडा नम्बर १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षका लागि भाडामा लिएर काम कारबाही शुरू भएपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।