Logo कार्तिक १४, २०७७ शुक्रबार


कथा : एसिडको आँसु

-लेख कार्की

मोबाइल बन्द गरेर बाथरुम गएँ । आज मनमा किन त्यति थोरै कुराकानी र केही तस्बिरहरुले मनमा तरंग ल्याईरहेछ । आफ्नो मनले आफैंलाई प्रश्न गर्यो ! पूर्णरुपमा स्वस्थ नभईसकेका कारण कतै जाने योजना थिएन । जाउलो बनाएर खाएँ । मेडिकलबाट ल्याएको औषधी दुईटा ट्याब्लेट बाँकी थियो एउटा खाएँ । अस्ति पढ्दापढ्दै नसकेर छोडेको पुस्तक “गुलावी उमेर“ पढेँ । आनन्द महसुस भयो फेरि सुतेँ ।

उठ्दा अपरान्हको चार बज्नै लागेको रहेछ । उठेर फ्रेस भएँ । चार्जरबाट मोबाइल थुतेर डेटा खोलेँ । फेसबूक मेसेन्जरमा आएका केही मेसेजहरुको रिप्लाई गरें । केही स्टाटस पढें । इन्स्टाग्राममा अर्को मेसेजले रिप्लाई पर्खिरहेको रहेछ ।

‘ खास के भा हो र हजुरलाई ? अहिले कस्तो छ ?’

बिहान अस्वस्थ छु भनेको कुरालाई जोडिएर आएको मेसेज थियो । मैले मेरो अस्वस्थताको बारे बताएँ । सुनेर शिघ्र स्वास्थ्य लाभको कामना भनिन् । धन्यवाद भनेँ । उनको बारेमा बिस्तृत जान्न मन लाग्यो र अर्को मेसेज थपेँ ।

‘ फेसबूकमा एड पठाउन मिलेन भन्नुभएको हैन ? म यहाँ निष्क्रिय साथी हटाएर आफैं पठाउँला नि त । फेसबूकको नाम पनि यही ललिता नै हो ?’

‘ हजुर । मेरो मेसेज पनि छ होला फेसबूक मेसेन्जरमा नमस्ते भनेर पठाएको । हा हा ’

‘हस् । नमस्ते फर्काउँला नि त । हा हा …। अनि कहाँबाट होला ?’

‘गौशाला । हजुर नि ?’

‘बानेश्वर ।’

‘के गर्नुहुन्छ ? सोध्न मिल्दैन थियो कि ?’

‘ किन नमिल्नु । तर सबै यहीँ भन्नुर ? कुनैदिन भेटेर भनौंला नि हुन्न ? हा हा ’

‘ हा हा भईजान्छ नि । हस् सी यु ।’

उनीसँग कुरा गर्दागर्दै निकैबेर भएछ । सी यु भनेपछि उनी अफलाईन् भइन् । मैले फेसबूकमा उनको नाम ललिता सर्च गरेँ । प्रोफाएल फोटो इन्स्टामै भएको रहेछ चिन्न सजिलो भयो । मेरो फेसबूक आईडीको फ्रेन्डलिस्टमा पाँच हजार साथीको कोटा पूर्ण भइसकेको थियो । फ्रेन्डलिस्टमा दुईबर्षदेखि निष्क्रिय रहेको “बिन्दास केटो मो“ भन्ने आईडी रहेछ अन्फ्रेन्ड गरिदिएँ र ललितालाई एड रिक्वेस्ट पठाएर म पनि अफलाईन भएँ ।

रात छिप्पिदै गयो । अल्छी मान्दै मान्दै खाना बनाएर खाएँ, सुतेँ । धेरैबेर सम्म निन्द्रा लागेन । मनमा धेरै कुराहरु खेलिरहे । केही बर्षअघि आँफू संगै पढ्ने युवतीसँगको दुई बर्षिय प्रेम सम्बन्ध टुटेदेखि म बिक्षिप्त थिएँ । कुनै युवतीमा पनि यस्तो प्रेमिल आकर्षण थिएन । आज ललिता सँगको थोरै च्याटिङले मनलाई हल्लाईरहेछ । मनको रंगशालामा आधारातसम्म रंग बेरंगका कुराहरु खेल्दै थिए खै कतिखेर निदाएछु ।

बिहान उठेर ओछ्यानबाटै मोबाइल निकालें । फेसबूकमा आएका एक्काईस नोटिफिकेसन मध्ये तेश्रो नोटिफिकेसन ललिताले मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको रहेछ । मनमा अर्कै तरङ्ग आयो । मेसेन्जरमा गूड मर्निङ थियो तर उनी अनलाईन् थिईनन् । केहीबेर पछि उनी अनलाईन् आईन् । हामी फेरि गफ गर्न शुरु गर्याैं । धेरै लामो च्याटिङ पछि भनिन् आज शनिबार भएर बिहान फेसबूकमा अल्मलिन पाईयो नत्र यतिबेला लेक्चर सुन्दै हुईन्थ्यो ।

पढ्दैरछिन् भन्ने कुरा त थाहा भयो तर त्यसको अलवा के गर्छिन् ? यिनको साथी सर्कल कस्तो छ ? घरमा को को छन् ? यस्तै यस्तै कुराहरु खेल्दै थिए । यत्तिकैमा भेटेर कफी पिउने प्रस्ताव गरेँ ।

‘ आजै ?’ भनिन्

‘सम्भव हुन्छ र तपाईंलाई अप्ठ्यारो हुन्न भने आजै । तपाईंको पनि आज बिदा त रहेछ ।’

‘आज मेरो अरु अरु धेरै काम छ अर्को हप्ता नि त है ।’

नाइँ भन्ने कुरो पनि भएन । मैले हुन्छ भनें । बीचमा फोन नम्बर लेनदेन भयो । हामी फोनमा कुरा गर्न थाल्यौं । उन्का सरल र सम्मानित शब्दले भरिएको सुमधुर आवाजले आकर्षणको गति लिँदै गयो । हामीले शनिबार चाबहिलको केएल टावरमा भेट्ने निर्णय गर्याैं ।

गाउँ नगएको निकै भएको थियो । आमा बुवाले न्यास्रो मानिरहनु भाथ्यो । आमालाई त्यही शनिबार घर आउँछु होला भनेको थिएँ । हेर्दाहेर्दै शुक्रबार आयो । आमालाई भोलि आउन नमिल्ने र केही दिनपछि आउने जानकारी गराएँ । ललितासँग कुराकानी शुरु भएको पनि हप्ता भएछ । यस बीचमा हामी फोन र च्याटिङबाट निकै बोलिसकेका थियौं । भिडियो कल भने गरेनौं । भेटेरै हेरेर गफ गर्ने भन्ने मीठो शर्त थियो । राती निकैबेरसम्म च्याटिङ गरेर सुतियो ।

अँध्यारो बिदा भईसकेछ शनिबारलाई भित्र्र्याएर । फोनको घण्टी बज्यो ।

‘गूड मर्निङ । उठ्ने बेला भएन ? दश बजिसक्यो त ।’ ललिताकै रहेछ ।

‘ हँ ?’

मोबाइलमा समय हेरेँ आठ बजिसकेको रहेछ ।

‘अँ भइसकेछ ! म उठ्छु अब अनि फ्रेश भएर निस्कन्छु है ! ’ भनेर फोन राखेँ ।

थाहा छैन उता कस्तो भयो ! मलाई बेचयन भयो ।

उस्ले के सोच्छे ? साथी सोच्ली । अनि म ? म पनि साथी । साथी मात्रै ? अलिक माथि । अहिलेनै ? …यस्तै यस्तै कुराहरु लिएर आफैं भित्रका मनहरु एकापसमा गफ गरिरहेका थिए । म नुहाएर निस्किएँ के एल टावरतिर ।

केएल टावरको गेटनेर पुगेर यता उता हेरें, इस्टाग्रामको फोटो आँखामै थियो, लामो कपाल भएका युवतीहरु जो देख्दा पनि उनै हुन् कि झैँ लाग्थ्यो तर उनै हुन् भनेर मनले सुनिश्चित गर्ने कोही लागेन । फोन गरेँ । आउँदैछु नजिकै छु भनिन् ।

अलिक परबाट हातमा कालो ब्याग लिएर, निलो कुर्तामा, मुसुमुसु हाँस्दै आउँदै गरेकी केटी हो झैँ लाग्यो । आउँदा आउँदै उनैले हाइ भन्दै मुस्कान सहितको हात हल्लाईन् । उनै रहेछिन् ।

‘कति छिटो चिन्नुभो ?’

‘फ्यान भएर नि नचिनौंला त ? ’

उनको हाँसो सहितको यो जवाफमा जवाफ थपिदिएँ फ्यान हैन फ्रेन्ड !

माथि जाऔं, उतै बसेर कफीगफ गरौं । मेरो प्रस्ताव सुन्नासाथ उनले भनिन् , ‘माथि हैन मिल्छ भने बौद्ध जाउँन । त्यतै घुमघाम गफ, कफी गफ गरौंला । ’

‘नाइँ भन्ने कुरै भएन । ’

बाईकमा उतै गयौं । गफ गर्दै बौद्ध गुम्बाको बाहिरी परिसर एक दुई चक्कर लगायौं र निस्किएर एउटा क्याफेमा बस्यौं ।

सोधेँ ,‘ के लिने ?’

‘कफी खान बोलाएको हैन ?’

‘ हो ! तर अब केही खाने बेला पनि त भयो ।’

‘त्यसो भए कफी खाउँ अनि यहाँ पर मीठो मोः मोः पाईन्छ त्यहीँ गएर मोः मोः खाउँला । ’

हामी कफी पिएर उनलाई मीठो लाग्ने मोः मोः पसल गयौं , मोः मोः खायौं । त्यहाँबाट निस्किएर फेरि केएल टावर गयौं । तला तला घुम्यौं । छुट्टिने बेला मैले गौशाला चोकसम्म छोडिदिएँ । कोठासम्मै छोडिदिन्छु भनेँ । पर्दैन नजिकै हो गईजान्छु भनिन् । उनलाई सायद अप्ठ्यारो लाग्ला ठानेर कर गर्न मन लागेन । हामी छुट्टिएर आ–आफ्नो बासस्थान लाग्यौं ।

केही कुराहरु त हाम्रो च्याट र फोनबाटै पनि साटासाट भएका थिए । यो भेटमा झन् धेरै कुराहरु भए । उनको बारेमा धेरै कुरा थाहा भयो । उनीहरु धेरै बर्षदेखि गौशाला चौक नजिकै डेरामा आमा छोरी मात्र बस्दा रहेछन् । आमा पशुपतिमा फूल बेच्नु हुँदोरहेछ । उनी बिहान कलेज जाने र दिउँसो टोलका केटाकेटीलाई ट्युसन पढाउने साथै आमालाई फूल जुटाउन सघाउने गर्दिरहेछिन् । बुवा र अन्य परिवारको बारेमा केही बताउन चाहिनन् । कुनैदिन भनौंला भनिन् । मैले हस् भनेँ ।

मेरा कथा र आर्टिकलहरु पढेको र सबै मनपर्ने भएकाले खोजी खोजी पढ्ने गरेको कुरा प्रत्यक्ष भेटमा पनि सुनाउँदै मेरो बारेमा अझै बढी जान्न मन लागेको बताईन् । मैले आँफू पढ्न भनेरै गाउँबाट आएको र थिएटरमा अभिनय सिक्दै गरेको देखि आफ्नो पारिवारिक पृष्ठभूमि बारे धेरै बताएँ ।

दिनहरु बित्दै गए । हामी एकअर्कामा झन् नजिक हुँदै गयौं ।

हामी साथी भन्दा अलिक माथी भएको महसुस भइसकेको थियो । एकदिन च्याटमै मैले उनलाई अप्ठ्यारो मान्दै सोधेँ, ‘यदि मैले तिमीसँग प्रेम भयो भने भनँे के भन्छौ ?’

‘भन्नुभएछ भने सोचौंला । फेरि अर्को प्रश्न थपिन् , ‘यदि प्रेम भयो भने मेरो लागि के के गर्न सक्नुहुन्छ ?’

जवाफमा लेखिदिएँ ,‘ तिम्रा हरेक खुशीमा रमाउने छु , तिम्रा हरेक दुःखमा अगाडी उभिनेछु र जस्तो सुकै परिस्थितिमा पनि साथ दिनेछु । ’

उताबाट हा हा संगै रातो पानको पात आयो ।

ग्रीन सिग्नल आएको कुरा मनले स्विकार्यो मनमनै खुशी लाग्यो । यावत रुपले प्रेमिल दिनहरु बित्दै गए ।

एकदिन थिएटरबाट फर्कदै थिएँ एउटा फेन्सीको म्यानिक्विनमा सजिएको कालो रङको लेडिज स्वेटर देखेँ । म्यानीक्विनमै ललिता देखेँ । कति राम्रो सुहाएको । सोचेँ यो स्वेटर ललिताकै लागि बनाईएको हो । यो उनलाई उपहार दिन्छु ।

फेरि सोचेँ लिन मानिन भने ?

लाग्यो नमाने पनि केही छैन कम्तीमा उस्का नाममा लिएको स्वेटर त आफैं सँग हुन्छ, मतलब एउटा ललिता मसँगै हुन्छ । आफ्नै मन आफैंसँग फिस्स हाँसेँ ।

स्वेटर लिइसकेपछी झन् राम्रो लाग्यो । मगमग वास्ना आउन थाल्यो । लाग्यो म ललितासँगै हिडिरहेको छु । कोठा पुगेर स्वेटर निकालेर हेरेँ । म्यानिक्विन सम्झिएँ , ललिताले लगाएर मुस्कुराएको कल्पना गरेँ । कतिबेला उनलाई दिउँजस्तो भयो । उनलाई फुर्सद भए अहिले भेट्ने हो भन्ने मनले निर्णय गर्यो । घडी हेरेँ दुई बज्नै लागेको रहेछ । गोजीबाट मोबाइल निकालेर डायल गरेँ , फोन उठेन । फेरि गरेँ उठेन । सोचेँ कतै छोडेर काम गर्दै होला । अहिले फुर्सदमा फोन फर्काउने होला । बरु नुहाएर तयार हुन्छु ।

बाथरुम छिरेँ । बाथरुममा पनि प्रथम उपहार स्वेटर अनि ललिता सम्झदै मुस्कुराउदै नुहाईसकेर निस्किएँ । र फेरि फोन हानेँ पूराघण्टी गयो फोन उठेन । फेरि हानेँ तीन घण्टीमा फोन उठ्यो !

‘हल्लो ! को होला ?’ स्याँ..स्याँ.. गर्दै आवाज आयो ।

अचम्म लाग्यो । मोबाइल हेरेँ नम्बर ललिताकै छ ।

जवाफ फर्काएँ ‘म विजय । तपाईं चाहिँ को होला ?’

‘ म दीक्षा ! ललिताकी साथी ।’

‘खै त ललिता ?’

‘हामी अहिले टिचिङ हस्पिटलमा छौँ । ऊ अहिले बोल्न सक्दिन । प्लिज पछि कल गर्नुहोला ।’

फोन काटियो । मलाई चिसा पसिना आए । एक्कासी के भयो यस्तो ! जिउ काप्यो थरर । आँफूलाई कन्ट्रोल गर्दै बाईक स्टार्ट गरेर टिचिङतिर हुईकिएँ । पुगेर ललिताको नम्बरमा फोन गरेँ । दीक्षा प्रवेशद्वारसम्म लिन आईन् । सोधें के भयो ? केही बोलिनन् आफैं आँसु बगाईरहेकि थिन् । भित्र ललिताकी आमा र ललिताका साथीहरु उसैगरी आँसु बगाईरहेका । साथमा केही प्रहरीहरु । ललिता आई सि यु मा थिईन् तत्काल भेट्न मिलेन । म त्यसै तहस नहस भएँ । आखिर भयो के ?

दीक्षालाई बिन्ती गरेर भनेँ प्लिज बताउनुस्न भएको के हो ? म ललिताको मिल्ने साथी हो । प्लिज् ….।

दीक्षाले मुख खोलिन् ललितामाथि एसिड आक्रमण भयो !

यो आवाज सुनेर मेरो बोली बन्द भयो । झ्याप्पै कालो बादलले छोपे झैँ भयो । अग्निकुण्डमा हामफाले झैँ भयो । पहिरो खसे झैँ भयो । कसैले मेरो छातीमा तीर हाने झैँ भयो । केहीबेर बोलीनै रोकियो ।

फेरि बिस्तारै सोधेँ ,
‘ कसरी ? ’

पछि भन्छु भन्दैथिईन् । प्लिज भन्नुन भनेर हात जोडेपछि शब्दहरुलाई आँसुले पखाल्दै भनिन् , ‘हामी कलेजबाट फर्कदा सधैं एउटा केटाले मलाई बाटोमा जिस्काउँथ्यो । फोन नम्बर माग्थ्यो , फेसबूक आईडी सोध्यो नदिएको रिसमा केके केके भन्थ्यो । अस्तिका दिन त्यसैगरी बाटै छेकेर नम्बर देउ भन्यो । मलाई धेरै नराम्रो लाग्यो । मैले केही भन्न सकिन मात्र रुन आयो । म रुएको देखेर ललितालाई धेरै रिस उठ्यो होला । उसको गालामा एक चड्कन दिई र भनी पख तँलाई ! पुलिस कम्प्लेन गर्छौं । उस्ले पनि ललिताको हात समातिसकेको थियो त्यतिबेलै परबाट देख्ने मान्छेहरु दौडेर आए । त्यो दिन पख् तँलाई देखाउँछु भन्दै त्यहाँबाट भागेको थियो । त्यही केटाले आज कलेजबाट फर्कदै गर्दा म र सबिना अलिकति अगाडि भएको मौका छोपी ललिताको दाहिने गालापटी एसिड हान्यो र भाग्यो ।

म निशब्द भएँ ।

भोलिपल्ट बिहानमात्र ललितालाई भेट्न पाएँ । दाहिने पटिको कान, गाला, हुँदै घाँटीको केही भाग एसिडले खाएछ । आँखाको छेउसम्म भेटेछ । उनले एककोहोरो चुपचाप हेरिरहिन् । जसरी रातमा ताराहरु धर्तीलाई चुपचाप हेरिरहन्छन् । मेरा आँखा भरिए । उनको हातमा हात राखेँ । उनका आँखाको ताल फुटेर बगिरह्यो । लाग्यो उनका आँखाबाट आँसु हैन एसिड बगिरहेछ । जस्को प्रभाव उनको लगायत आमाको, मेरो र ललिताका साथीहरुको मुटुलाई परिरहेछ । यद्यपि उनीप्रति झन् प्रेमको मात्रा बढेर गयो । आमालाई ललिताका साथीहरुले सम्हालिरहे । घटनाको खबर सामाजिक सञ्जालदेखि लिएर मूलधारका सञ्चार माध्यमहरु द्वारा फैलिसकेको थियो । सामाजिक अभियन्ता तथा समाजका विभिन्न खाले आदर्श पात्रहरु उनलाई हेर्न र उनको स्वास्थ्य लाभको कामना गर्दै उनलाई जीवन जिउने हौशला दिन आउने जाने क्रम चलिरह्यो । बाहिर विभिन्न संघ संगठनहरु द्वारा अपराधी छिटोभन्दा छिटो पत्ता लगाएर कानून संसोधन गरेर भए पनि अपराधीलाई फाँसी दिनुपर्ने खालका माग सहितका र्र्यालीहरु चल्न थाले । फरार अपराधीको खोजीमा प्रहरी प्रशासन लागिरह्यो ।

दिनहरु हप्ता हुँदै महिनामा परिणत भए । अपराधी फेला परेको खबर आएन । यता ललिताको स्वास्थ्यमा भने केही सुधार हुँदै थियो । उनी बोल्ने कोसिस गर्थिन् फेरि त्यसै चुपचाप भईजान्थिन् , मुस्कुराउने कोसिस गर्थिन् आँसु बगाई जान्थिन् । यो दृश्यले मेरो हृदय चिरिन्थ्यो । दीक्षा लगायत अन्य साथीहरु खुब सम्झाउँथे र म उसैगरी म छु, हामी छौँ भन्दै सम्झाउँथें । यो दौरानमा आमालाई पनि म ललिताको नजिकको मान्छे भएको कुरा बुझाइसकेको थिएँ ।

म प्राय बिहान, साँझ जान्थेँ उनलाई भेट्न । दिउँसो प्राय उनका साथीहरु र कहिलेकाहीँ उनकी आमा मात्र हुन्थे उनिसँग ।

घटना भएको पनि चार महिना बितिसके छ । एकदिन उनलाई भेट्न जानेबेला कपडा फेर्न दराज खोलेँ । कालो स्वेटरमा नजर पर्यो । मन अमिलो भयो । त्यसलाई निकालेर ब्यागमा हालेँ र लागेँ अस्पतालतिर ।

उनलाई भेटेपछि भनें ‘ एउटा कुरा भनौं ?’

उनले भन भन्ने संकेतमा मुन्टो हल्लाईन् । झोलाबाट स्वेटर निकालेर स्विटेर किन्दाको कहानी बताएँ , म्यानिक्विनमा उनी देखेको बताएँ, उनीप्रति मनको समून्द्रमा आएका प्रेमिल ज्वारभाटाहरुको बारेमा बताएँ । म उज्यालो अनुहारका साथ बताईरहेथेँ, उनले मेरो हात समाएर नमज्जाले आँसु बगाईन् । ती बगेका आँसुले भने मलाई दुःखी बनाएनन् किनकी मनले बुझिसकेको थियो ती आँसु प्रेमिल थिए ।

यतिबेला उनका साथीहरु कोही थिएनन् । आमा बाहिर घाम ताप्न जानुभाथ्यो । म र उनी मात्र थियौं । यत्तिकैमा एकजना नर्स आएर भनिन् ( तपाईंहरुलाई एउटा कुरा थाहा भयो ?

मैले सोधेँ , ‘थाहा छैन त । के होला ? ’

‘त्यो एसिड आक्रमणकारीलाई प्रहरीले पक्रियो नि बीरगञ्जबाट । अहिले तपाईंहरुलाई देखाउन यहीँ लिएर आउँदैछ ।’

सुनेर खुशी लाग्यो । ललिताले फेरि आँसु बगाईन् । मैले आफ्नै रुमाल निकालेर पुछिदिएँ । उनका साथीहरु दीक्षा र सबिना पनि आए । हामी यसै बीचमा नेपाल प्रहरीले ढिलै भए पनि पक्रियो तर अपराधी चाहिँ त्यही हो या गलत पर्यो भन्ने कुराहरु गर्दै थियौं । प्रहरीले अपराधी लिएर आईपुगे । साथमा बाहिर पत्रकारहरु पनि ।

अपराधी देख्नासाथ दीक्षाले दाह्रा किट्दै भनिन् , ‘यही राक्षस हो ।’

ललिताले हेर्न सकिनन् !

एकछिन् अघि अपराधी फेला पर्यो रे भन्ने खवर सुनेपछी उज्यालो अनुहार बनाएकी आमाले अपराधी देखेपछी अनुहार झन् अँध्यारो बनाउनुभयो । आँखाभरी आँसु बनाउँदै सोध्नुभयो को हो यो ? कहाँको मान्छे हो ?

प्रहरीले भने, ‘आमा अहिले यहाँहरुलाई देखाउन मात्र ल्याएका हौं । यसको बारे सबैकुरा पछि थाहा हुन्छ । हामी बताउँछौँ ।’

आमाले, यसलाई बताउन भन्नुस् न बाबु एकपटक ! कहाँको कस्तो खाले मान्छे हो यो भनेर जिद्दी गरेपछि प्रहरीले भने । ओइ तेरोबारे अघि बाटामा आउँदा हामीलाई बताए जति यहाँ बताईदे ।

केटोले घोसेमुन्टो लगाएर हत्कडी हेर्दै भन्यो नाम देवराज शर्मा , घर ओखलढुङ्गा सिस्नेचौर, बर्ष चौबिस । ठूल्यामाले भने अनुसार म पाँच बर्षको हुँदा गाउँमा आमालाई गाउँकै वडाध्यक्ष सँग बोलेकै भरमा बिना कसुर गाउँलेले बात लगाए रे । बुवाले गाउँलेका कुरा सुनेर आमालाई नस्विकारेपछी सानी बहिनी मात्र लिएर आमा गाउँ छोडेर बेपत्ता भएकी रे । बुवालाई आजभन्दा तीन बर्ष अघि खोलाले बगायो । त्यसपछि म काठमाण्डौ आएर ग्यारेजमा काम गर्न थालेको …!

यति सुनेपछि आमा अपराधीको अलिकति चिरिएको देब्रे कान र घाँटीमा स्पष्ट देखिने पीपलको रुखजस्तो जन्मचिन्ह हेर्दै नमज्जाले भक्कानिनुभो , भित्तामा टाउको ठोक्नुभो र आफ्नै मन चिर्ने एसिड जस्ता आँसु बगाउँदै प्रहरीलाई भन्नुभयो ‘बाबू ! त्यो वडाध्यक्षसँग बिनाकसुर बात लागेर हराएकी अभागी आमा मै हुँ ।’

© लेख कार्की

twitter M- @Lekhkarki1

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।