कोरोना संक्रमितलाई लोकसेवाको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।
लोकसेवा आयोगले विभिन्न पदका विज्ञापन प्रकाशित गर्दै कोरोना संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्थाकाे विरुद्धमा परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले लोकसेवा आयोगलाई कोरोना संक्रमित परिक्षार्थीलाई वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न आदेश गरेको हो ।
संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा, रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको आधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर सर्वाेच्चको छ । साथै आफू संक्रमित भएको स्वघोषणा गरी परीक्षा दिन नपाउने व्यवस्था गर्दा बहिस्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पुर्याउन सक्ने हुँदा नयाँ निर्णय लिइएको बताइएकाे छ ।
सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लोकसेवा आयोगका परीक्षार्थीले कोरोना संक्रमणको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सहभागी हुन नपाउने मापदण्ड कार्यान्वयन नगर्न भनेको छ