चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

काठमाडौं । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको संख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।
अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि कोरोना संक्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताउनुभयो ।
घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उहाँको भनाइ छ । नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ ।
कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो ।