Logo कार्तिक १४, २०७७ शुक्रबार


कथा : बसभित्रको पिरती

गुरुदत्त ज्ञवाली

उनीहरूको चर्तिकला देखेपछि मैले मनमनै नाम राखिदिएँ, उसको नाम सुन्दर र उनको नाम चञ्चला । सुन्दरले उसकै अगाडि उभिएर बसको डण्डीमा समातेकी चञ्चलाको हातै नजिक आफ्नो हात लग्यो र सुस्तरी औंला चाल्यो । बस यस्सो घचक्क के भएको थियो चञ्चलाको हातैमाथि हात राख्यो, त्यसपछि झिकेन ।

जमाना खराब छन् अब झगडा हुने भयो भन्ने लागेको थियो, ए..बरै, चञ्चलाले त कुनै प्रतिवाद नै गरिनन्, र सुन्दरले हातले जे गर्न खोजेको हो सबै गर्यो। स्पर्श मैथुन ।

त्यो पनि लघु स्पर्श मैथुन । हातको कुनै भाषा हुन्छ भने त्यो भाषामा उसले चञ्चलासँग धेरै कुरा ग¥यो, चञ्चलाले त्यो कुरो बुझिन् । अनि मात्र चञ्चलाले पुर्लुक्क उसको मुखमा हेरिन् ।

उनले सुन्दरको मुखमा हेर्दा उसले नजानेको जस्तो गरेर अन्यत्र आँखा डुलायो । त्यसपछि चञ्चलाले हातकै स्पर्शले अर्को चिठी पठाइन् क्यार ? अनि त के चाहियो र ? सुन्दरको पेस्की बिल

फस्र्यौट भयो । दुवैका आँखा जुधे । चञ्चलाको अनुहार रातो र पिरो भयो । सुन्दरले अर्को हातले निधारका पसिना पुछ््यो । बस दगुरेकै थियो । यात्रा लामो थिएन । बस नारायणघाटबाट बुटवलको लागि छुटेको हो लोकलै त भन्नु पर्यो ।

बस कावासोती पुग्दा सुन्दर आफू उभिएको स्थानभन्दा थोरै पछाडि सर्यो। उभिएका यात्री पछाडिसम्म नै थिए । ऊ अलि पछाडि गएर उभिनुको कारण कुनै सीट खालि हुन्छन् भन्ने लागेर होइन । उसले हुन सक्छ अझ एकान्त खोज्यो । त्यो कुरो त्यति बेला थाहा भयो जब चञ्चला पनि पछाडि सर्कँदै गइन् ।

त्यहाँकोपोजिसन पहिलेको भन्दा फरक देखियो । पहिले सुन्दरले हात माथि हात मात्र राखेको थियो । पछाडि सरेपछि अझै टाँस्सियो ।

चञ्चलाले आफ्नो शरीर उसको अनुकूल बनाएको देखिन्थ्यो । सबै यात्री आफ्नै गन्तव्यको धुनमा रहेको हुनाले ती कुरामा कसैको पनि ध्यान गएन ।

ध्यान त मेरो पनि नजानु पर्ने हो तर अघिल्लो दृश्य मेरै आँखाको सामुन्ने भएको हुनाले चासो बढेको हो । त्यस ठाउँभन्दा ३० किलोमिटर जति पर पुग्दा बसमा एउटा सीट खाली भयो । सीट उनीहरू उभिएको स्थानको नजिकै थियो तर दुवैजना बसेनन् ।

उनीहरूको लभ फसिसकेको रहेछ, पछाडि सरे पछि पनि हातको अवस्था उस्तै छ । न तल परेको हात निस्कन्छ न त माथिको हात नै सर्कन्छ । त्यो बसमा उभिएका यात्रुको पनि टन्न लाइन थियो । यात्रामा थपिने अरु कसैले त्यो लिला देख्ने वा देखेर पनि अन्दाज गर्ने खालको थिएन । मैले त तमासा मात्र हेरेँ ।

मेरो सँगै सीटमा बसेकी महिला म बस्नुभन्दा पहिले नै बसिसकेकी थिइन् । उमेर त्यस्तै तीसकै हाराहारीकी । उनको र मेरो न बोलचाल भएको छ, न अरु हाउभाउ छ आपसमा न त देखादेख भएको छ ।

मेरी श्रीमती र सानी छोरी म भन्दा अघिल्लो सीटमा बसेका छन् । हामीहरू हुन त सँगै बस्न खोजेका हाँंै, सुरुमा मेरो लागि सीट पाइएन । पछि ती महिलाको कोख्खैमा परेँ ।

यसो किन भन्नु पर्यो भने मेरो बसाइको अवस्था मेरी श्रीमतीले देखिन् भने गाडीमा त केही बोल्दिनन्, घरमा पुगेपछि “धरोधर्म मैले ती महिलालाई छोएकैछैन” भनेर कसम खानुपर्छ ।

आज त तेत्तीसकोटी देवताको नाम लिँदा समेत कसमले पूर्णता नपाउला जस्तो छ । तै श्रीमतीको नजर अझै म माथि पुगेको छैन । मेरो छेउकी महिला पनि राम्री छन् भन्ने लाग्छ । अनुहारै नदेखे पनि सुन्दरताको छनक पाइएको छ ।

उनी नराम्री, केटाकेटी अथवा पाकी महिला हुन्थिन् भने मेरो यात्रा श्रीमतीको नजरमा भय रहित हुन्थ्यो । अन्यथा मेरी श्रीमती त रिसले रगतै उम्लने खालकी हुन् । उनी नभएको यात्रामा त सँगै को थियो भनेर सोध्ने बानी छ । कहिले त मैले पनि उनको तमासा हेर्न भन्ने गर्छु, “असाध्यै राम्री सुन्दरी थिइन् ।” भन्न त भन्छु तर आफैले सँभाल्नु पर्छ पछि ।

त्यसैले पनि म सतर्क भएर बसेँ । बसले ब्रेक हानेको बेला उनको कुमसँग मेरो कुम ठोकिँदा पनि म डराउँथेँ । डर ती महिलासँग त अलिकति हो, त्यो भन्दा पनि मेरै श्रीमतीसँग बढी डर ।

त्यो यात्रामा गैँडाकोटबाट एक जना यात्रु बसमा चढ्यो । ढोकाबाट छिर्ने बित्तिकै उसले चम्किला आँखाबाट सरर बैँसको उज्यालो फाल्यो ।

लगभग सबै यात्रीका आँखामा उसका आँखाका किरण पुगे । त्यसपछि उसले ती किरण महिलाहरूतिर छानेर फाल्यो । महिलामा पनि युवतीतिर र युवतीमा पनि अलि राम्री मानेका युवतीतिर फाल्यो ।

राम्रीको परिभाषा मैले भन्दा उसैले धेरै पढेको हो कि ? यस्तो पनि लागेको हो । बस्ने सीट थिएन र ऊ भीडमा कोच्चिँदै बीचमा पुग्यो । उसले फालेको किरण कतै गएर ठोकियो । रिचार्ज भयो भन्ने पनि लाग्छ । त्यहीँबाट सुरु भएको यो कथा हो ।

चञ्चला नारायणघाटबाटै चढेकी भए पनि सीट पाएकी थिइनन् । उनी कहाँ पुग्ने यात्री हुन् र सुन्दर कहाँ पुग्ने हो ? त्यो त थाहा भएन तर यात्राको स्वरुप हेर्दा चोरमारा भन्दा पश्चिम लाग्ने खालका दुवै होइनन् भन्ने मेरो अन्दाज फेल खायो ।

उनीहरू चोरमारा झरेनन् । कण्डक्टरले भाडा उठाउँदै थियो । कसले कहाँसम्मको भाडा दिए त्यो थाहा भएन । दुम्कीबास पुग्दा मेरै सीटको बराबरीको बी साइडमा दुईटा सीट एकैचोटी खाली भए । सुन्दर र चञ्चलाको मुखले बोलचाल भएको थिएन र पनि उनीहरू त्यो खाली सीटमा सँगै बसे ।

म आफ्नै सीटमा पनि मानौं मेरै भाइ बुहारीसँग जस्तै गरेर नछोएइकन बसेको थिएँ । जानेर वा बसाइ सजिलो पार्न पनि ती महिलासँग छोइएको थिइन । एक पटक यसो अनुहार हेर्न खोजेको त थिएँ, अघिल्लो सीटमा आमाको काखमा बसेकी छोरीले मतिर हेरेर “बाबा” भनेको सुनेपछि मेरो सातो गयो । कतै छोरीले देखेर आमासँग कुरा त लगाउने त होइन ? तर छोरीले मेरो मुखमा हेरेर मुसुक्क हाँसी मात्र ।

हुुँंइकिएको बस दाउन्नेमा पुगेर एकैछिन रोकियो । यात्राको नियमले भात खाने बेला भएको थियो । नखाइकन आएका यात्री खाने धन्दामा लागे । हामी खाएकाहरू पनि चिया खान झ¥याँै । त्यसै मौकामा मैले ती मेरै सीटको कोख्खैमा बसेकी महिलाको मुखमा के हेरेको थिएँ, बिचरा…, मेरै माइलाबाकी छोरी । बहिनी । उनीहरू चितवनमा बस्ने, म बुटवलमा बस्ने ।

धेरै समयपछि देखिएको अनुहार । कहिलेकाहीँ भेट भएको बेलामा टेढा आँखाले हेर्दा त चिन्नै गाह्रो । अहिले त बहिनीले पनि चिनिन् । मैले त उनले भन्दा पहिले अनुहार देखेको हुनाले चिनेँ । के भन्ने ? कस्सो मनमा पाप पसेन भन्ने पनि लाग्यो । तर त्यो यात्रामा मेरी श्रीमती नभएको भए सुुरुमै उनको अनुहारमा हेरिन्थ्यो होला र बहिनीसँग गफ गर्दै आइन्थ्यो । र मैले उनकी भाउजूलाई परिचय गराउन चाहेको थिएँ । छोरीले बाथरुम जान्छु भनेकीले उनी उतै लागिन् । उनी

फर्कँदासम्म बस छुट्ने बेला भएकोले मैले बहिनीसँग परिचय गराउन पाएको थिइन । सुन्दर र चञ्चलाका गफ सुस्तरी चल्न थाले । सुन्दरले चञ्चलाको घर सोध्यो, उनले चोरमारा हो भनिन् । घरको हालखबर सोध्यो ।

पढाई सोध्यो, दाजुभाइ सोध्यो, दिदीबहिनी कति छन् सोध्यो । चञ्चलाले सबै बताइन् । उसले चञ्चलालाई किन चोरमारा नझरेको हो त भनेर पनि सोधेको हो तर उनले त्यसको जवाफ दिन आवश्यक ठानिनन् वा के भयो, बोलिनन् ।

उनीहरू लगभग विवाहित जोडी जस्तै गरेर कुरा गरे । सुन्दरले उसको घर पनि बतायो । ऊ त झन कावासोतीको रहेछ । शायद बसको भाडा बुटवलसम्मकै दिए । नत्र कण्डक्टर कराउँथ्यो ।

त्यो जोडीले त्यहाँ भात खाएन, घरमै खाएर आएको हुनुपर्छ । उनीहरूको व्यवहारले पहिल्यै परिचय भएका पनि होइनन्, त्यस्तो लक्षण देखा परेन । चिया सिया केही पनि खाएनन् ।

बरु बसबाट झरेर सडकै छेउको मन्दिर नजिक पुगे जहाँ एकजना मान्छे पण्डितको पहिरनमा बसेका थिए । उनीसँग के–के कुरा गरे । पण्डितले हँसिलो मुहारले टाउको हल्लाए । त्यसपछि सुन्दर र चञ्चलाले दुईटा माला किने । अरु खित्री मित्री पनि किनेको देखियो ।

मलाई लाग्यो, चुरा, पोते, टीका र यस्तै अरु कुरा किने जुन कुराले एउटा लघु विवाह हुन्छ । समान लिएर पण्डितसमेत तीनै जना दाउन्ने देवीको मन्दिरतिर उकालो लागे । मैले मनमनै त्यो जोडीलाई विवाहको शुभकामना दिएँ ।

मेरो शुभकामना लाग्यो वा लागेन ? त्यो विवाह टिक्यो वा टिकेन ? अचम्म त त्यस्ता यात्रा  उनीहरूका धेरै हुन्छन् होला । सबै यात्रामा त्यस्तै विवाह पो हुने हो कि ? केही मेसो पाउन सकिएन । बस दाउन्नेबाट बुटवलतर्फ छुट््यो ।

म निर्धक्कसँग बहिनीसँग कुरा गर्न थालेँ । त्यसभन्दा पहिले मैले मेरी श्रीमतीलाई बहिनी हुन् भनेर चिनाउन नपाएको हुनाले कुनै युवतीसँग गफ मार्दैछ भन्ने लागेछ श्रीमतीलाई । उनले अनुहार बिगारेर मतिर हेरिन् ।

शायद “पख घरमा गएर के हाल गराउँछु” भन्ने लागेको हुँदो हो । मैले त्यसै बेलामा बहिनी, माइलाबाकी छोरी भनेर परिचय गराएँ । उनको अनुहार सर्लक्कै फेरियो ।

उनले नन्दलाई नमस्ते गरिन् र नन्दले पनि । बस बुटवलतर्फ हुइँकियो । अर्काे जोडी पनि त्यस्तै त छैन ? मैले पनि आँखा त दौडाएको हुँ, कोही देखिएनन् ।

(जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित कथा संग्रह मुख्खेनीको मसान मा संग्रहित कथा )

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।