Logo कार्तिक १४, २०७७ शुक्रबार


कथा : आलु

मन्जु काँचुली

उनी अविकसित राष्ट्रकी एक तन्नेरी महिला हुन् । उनका श्रीमान् विकसित राष्ट्रका एक अधवैँस पुरुष हुन् । उक्त तन्नेरी महिला आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भनी एउटा विकसित राष्ट्रमा अथवा भनौँ आफ्नै श्रीमान्को टोल शहरमा पुगेकी हुन् । उक्त महिलाले अविकसित मुलुकमा रहेको आफ्नो घरमा रहेका विकसित मुलुकका आफ्ना श्रीमान्लाई विकसित मुलुकबाट इन्टरनेटमा स्काइपबाट कुराकानी गर्दैछिन् । आफ्ना श्रीमान्सँगको कुराकानीको सिलसिलामा उनी भन्दैछिन्ः

“…मलाई यो एउटा रेष्टुरेन्ट छ नि त्यहाँको आलुको परिकार अत्यन्तै मनप¥यो, विशेष गरेर फ्रेन्च फिङ्गरचाहिँ । अनि त्यो सुपर मार्केटमा अग्र्यानिक किसिमले उत्पादन गरेको तरकारी–बजारमा गएको थिएँ । त्यहाँ आलु नै आलु देखेर त मलाई कस्तो खुशी लाग्यो– रातो, सेतो, सानो, ठूलो किसिम किमिसका आलु । म त त्यहीँ खुशीले बुद्रुक्क उफ्रिए छु ।

नजिकै हिँडिरहेकी एक महिलालाई मेरो शरीरले कस्तरी ठक्कर दियो र उनका श्रीमान्ले मलाई आँखा गाडेर मुसुक्क मुस्कुराए । श्रीमतीलाई त्यत्ति ढेप्पा लाग्दैमा उसले त्यसरी मुस्कुराउनु पर्छ त ?” उनका श्रीमानले प्रश्न गरे ः “त्यो कन्फरेन्स्मा के के एजेन्डा रहेछन् ? त्यहाँ जानु भन्दा अगाडि पनि तिमीलाई त्यस बारे थाहा थिएन । भन त ।”

“अनि सुन्नुस्न, त्यो आलु देखेर म त मक्ख परेँ । आफ्नो क्यामेरा झिकेर मैले ती आलुको संग्रहको कस्तो राम्रो तस्बीर खिचेकी छु । तपाईंलाई इमेलमा अट्याच गरेर पठाउँदैछु । मलाई लाग्छ अवश्य पनि तपाईंले मन पराउनु हुन्छ । मेरो चाखको कदर गर्नुहुनेछ ।”

“तिमी जस्ता महिलाका समस्याबारे त्यहाँ के के छलफल भयो ? पूरै सशक्तिकरण भयौ होलिऊ । अब त के के पो हुने हो तिमीलाई हेर्दा ?”
“त्यो एउटा डिपार्टमेन्टल स्टोरमा ‘सेल’का कपडाहरू राखेको थियो । मैले आफूलाई थुप्रै कपडाहरू किनेँ । के के किनेँ थाहा छ ? म भनूँ है त ?”

हाँसेको उपहासको आवाजमा “मलाई नि ? के किन्यौ त ?”

“एक ज्या भुसुक्कै बिर्सिएछु ।”

“त्यो तपाईंले मलाई ल्याइदिएको ताल्चा मार्ने कट्टुको त यहाँ सवा सय डलर पर्दोरहेछ । मलाई त त्यो मन परेन । कस्ता राम्रा खुला प्यान्टी नै छन् यहाँ त । त्यो मैले तीन दर्जन किनेँ । अनि राम्रा राम्रा ब्रासियरहरू कस्तो महँगो पाइएको नि तब । मैले त्यो पनि थुप्रै किनेँ । मलाई जुत्ताहरू कति मन पर्छ । विशेष गरेर हिल भएको चाहिँ । त्यो तपाईंलाई थाहा छ नि । ती पनि किनेँ ।”

“तिमी त जुत्ताको फेशनको मामलामा त मिसेस मार्कोसलाई पनि जित्छ्यौ कि क्या हो । मलाई के ल्याउने विचार छ नि ? मलाई त त्यस्तो केही पनि महँगा सामानको जरुरी छैन ।”

“ए, बिर्सिएछु तपाईंलाई त । मैले केही पनि सामान हेरेकै छैन । सम्झिएछु भने फुटपाथतिर हेर्नुपर्ला ।”

“कार्यक्रम एकदमै प्याक्ड छ भन्छ्यौ । यति धेरै सपिङ गर्न कसरी समय पायौँ ?”

“म कहाँ कार्यक्रममा बस्छु र । कार्यक्रममा त ती जमात् मूर्खहरू बस्छन् । मलाई कार्यक्रमको के मतलब ? मलाई त बस्, मनोरञ्जन, फैसन, खाना, महँगा रक्सीहरू… त्यति भए पुग्छ ।”

“अनि तिमीलाई त्यहाँ पठाउने मानिसलाई र पठाउने अफिसलाई रिपोर्ट दिनु पर्दैन ? कार्यक्रम मै नबसे पछि कसरी बताउँछ्यौ त्यहाँ के भयो भनेर ?”

“यहाँबाट सबै कागजहरू बटुलेर तपाईंलाई ल्याइदिन्छु । अनि तपाईंले त्यो पढेर बताइदिइ हाल्नुहुन्छ नि । सुन्नुस् त । घरमा हाम्रो नोकर छैन । त्यो तपाईंलाई थाहा छँदैछ । काम सबै राम्ररी गर्नुहोला । पाहुनाहरू आए पनि खाली सफ्ट ड्रिक्स् मात्र दिनुहोला । वाइह्यात् खर्च नगर्नुहोला । मलाई त तिनीहरू मनै पर्दैन । तपाईंका घरतिरका साथी वा नातेदारलाई घरमा नभेटे पनि हुन्छ ।”

“आमालाई अलि सन्चो छैन । मलाई मेरै मुलुक जानुपर्ला जस्तो छ एक पटक । बरु फुर्सद मिलाएर एकचोटि मेरी आमालाई हेर्न जाऊ । मेरो आग्रह यही छ ।”

“मलाई फुर्सद छैन तपाईंकी बुढी भएकी आमालाई हेरेर सुसार गर्र्न । बूढी मान्छे त हुन् नि । औषधी गर्नु पर्दैन । बरु त्यो पैसा म फर्किए पछि सबै मलाई दिनुहोला । आपूmलाई कत्ति खर्च गर्नुपर्छ । सपिङ गर्नुपर्छ । ब्यूटीपार्लर जानुपर्छ । मनोरञ्जन गर्नुपर्छ । कहिले पनि पैसै पुग्दैन । अरूचाहिँ कुहिरेसँग धेरै पैसा होला, तँलाई देला नि भन्छन् । आपूmलाई भने सधैँ पैसाको दुःख छ ।”

“कति सपिङ भनी राख्छ्यौ ? कन्फरेन्स्को कुरा गर न । यतातिरको कुरा बिर्सिदेऊ । पहिले तिम्रो आफ्नो जिम्मेवारीको काम गर । कार्यक्रम नछोड ।”

“कहाँ सम्झेर बसेकी छु र मैले त्यहाँको घरतिर कुरा ? मलाई सम्झने फुर्सद नै कहाँ छ र ?… सुन्नुस् न अनि त्यो आलु मैले बजारबाट कति धेरै ल्याएँ र कोठामा फैलाउँदा त मेरो मन कत्ति हर्षले गद्गद् भयो ।”

“तिमी पनि त आलु जस्तै नै छ्यौ नि । त्यसैले होला ।”

“के म त्यस्ती नराम्री छु र ?”

“के आलु नराम्रो हुन्छ र ? तिमी आलु जस्तै राम्री छ्यौ भनेको नि । मुलायन, हृष्टपुष्ट, तन्दुरुस्त, खाइलाग्दी भनेको नि ।”

“तपाईं त ठट्टा मात्र गर्नु हुन्छ । सुन्नुस् न एउटा कुरा । तपाईंलाई कति धेरै चाख लाग्नेछ ।”

“के कुरा हो त्यस्तो ?”

“म आज नि एउटा ठूलो मार्केट प्लेसमा जान लागेकी छु ।”

“किन र त्यहाँ नयाँ डिजाइन र ल्याबेल्को आलु चिप्स पाइन्छ भनेर हो कि ?”

“त्यस्तो नभन्नुस् है मलाई, म रिसाउँछु । हैन तपाईंले मलाई के सोच्नु भाको छ । म त तपाईंको देश मात्र हो र, संसार हाँकेर हिँड्ने स्वास्नीमान्छे हुँ । के सोच्नुभा छ मलाई तपाईंले हँ ?… डियर, सुन्नुस् एउटा कुरा । म आज मार्केटमा किन जान लागेकी तपाईंलाई थाहा छ ? त्यहाँ ‘सेल’मा कति राम्रा डबल स्वेटर कति सस्तोमा छ रे । त्यति मात्र हो र ? नयाँ डिजाइनको रे त्यो सबै । त्यसैले नि डियर म आफ्नो त्यो अति महत्वपूर्ण भनिएको कन्फरेन्स नै छोडेर त्यतातिर जाँदैछु । हा…हा… हा…हा…।”

“ए, त्यसो त गर्नु भएन नि । तिम्रो फेरि नराम्रो रेकर्ड र इमेज रहन्छ । अनि कसरी तिमी अरू ठूला ठूला कन्फरेन्समा यसै गरी जान पाउँछ्यौ नि ? त्यसको असर मलाई पनि पर्छ । त्यसो नगर डार्लिङ ।”

“प्लीज त्यसो नभन्नुस् । मेरो दाजु मन्त्री हुनुहुन्छ । मलाई उहाँले जहिले जे पनि बनाउन सक्नुहुन्छ । जहाँ पनि पठाउन सक्नुहुन्छ । तपाईंले भनेको म मान्छु र ? मैले तपाईंले भनेको के पो अहिलेसम्म मानेको छु र ? आपूmलाई आफैँ हाँक्न सक्ने म जस्ती स्वास्नी मानिसले तपाईंको कुरा किन सुन्ने ?

“मनले नसुने पनि कमसेकम कानले त सुन ।”

“सुन्दिन । हैन साँच्चि त्यो किचेन फ्रिजमा राखेको आलुको रोष्ट सिध्याउनुभयो ?”

“मैले त्यो छोएको पनि छैन । तिमीलाई मन परेको चीज मेरो नसिध्याउने बानी छ नि । त्यसैले ।”

“अरू के के सिध्याउनु भयो नि ? खर्च धेरै नगर्नुस् है । मैले भनिदिएकी छु । घर फर्केपछि मेरो कति धेरै, आफ्नै देशमा पनि सपिङ गर्नु छ ।”

“त्यहाँ तिमीले बुझाउनु पर्ने कार्यपत्र लेखेर इमेल गरेर पठाइदिएको छु । हेर्नु । अवश्य नि । तिमी त्यहीँ मुख्य कामका लागि गएकी होइनौ ? मैले तिमीलाई तयार गरिदिएको कार्यपत्र किन लैजान बिर्सिएकी ? बैठक कोठाको टेबिलमाथि नै रहेको देखेर म त अचम्म मानेँ । त्यो मैले लेखिदिएको कार्यपत्र तिमी राम्ररी पढ्न पनि जान्दिनौ । अब कसरी पढ्छ्यौ त्यसलाई ? त्यो तिम्रो लागि समस्या भएन ?”

“ए, त्यस कुरामा त चिन्तै नमान्नुस् न । घाँटी दुखेको बहाना गर्छु नि । प्रिन्ट आउट निकालेर फोटोकपी गरेर बाँडिदिन्छु । तपाईंले लेखेका कुरा उनीहरूले नै बुझ्छन् । पढ्नै परेछ भने पनि अर्को कसैले पढिदिइहाल्छ नि ।”

“प्रश्न सोधे भने के गछ्र्यौ नि ?”

“घाँटी दुख्या छ भन्छु । सुन्नुस् न । यस ठाउँको नजिकै बाढी पीडितलाई लुगा कपडा बाँडिरहेका रहेछन् । मौका मिल्यो भने म त त्यहाँ न्यू ओर्लिएन्स गएर त्यहाँबाट राम्रा राम्रा कोटहरू छानेर घर ल्याउँछु । हाम्री छोरीलाई हुन्छ नि । फेरि फेरि लगाउन हुन्छ । कत्ति फेसनेबल छे हाम्री छोरी म जस्तै । राम्री पनि त छ नि म जस्तै । जवाफ दिनुस् न । किन बोल्नु हुन्न ?”

“मेरी छोरी तिमी जस्ती छैन ।”

“किन ?”

“किन कि उसको अनुहार गैँडाजस्तो छैन । ऊ तिमीले ल्याएको थोत्रो कोट लाउँदिन । न्यूओर्लियन्समा त्यति ठूलो बाढी आएको थियो । त्यो लुगा कपडा तिनै बाढी पीडित जनताका लागि हो । मेरी छोरीले लाउँदिन त्यस्ता लुगा कपडा ।”

“के गर्ने छे ऊ । म त्यहाँ आए पनि देखाउँला उसले लगाउँछे कि लगाउँदिन भनेर । त्यतिबेला देख्नुहुनेछ, मेरो घरमा मेरो शक्ति कति रहेछ त्यो पनि बुझ्नुहुनेछ । नरिसाउनोस् । बुझ्नु भो ? नरिसाउनोस् । मैले भन्द्या छु ।… साँच्ची भन्नुस् न मेरो शरीरको कुन चाहिँ भाग राम्रो लाग्छ तपाईंलाई ? यहाँ कोही पनि छैनन् । म मात्र बसेकी छु यहाँ । यो कमन रुम हो । जे भन्दा पनि हुन्छ । हा…हा… हा…हा… (लाडिएर, लजाएजस्तो बहाना पारेर) मलाई यहाँ एक्लै बस्नुपर्दा कस्तो दिक्क लागिरहेछ ? कहिले तपाईंलाई भेटूँला जस्तै भै’राछ । भन्नुस् न मेरो सबैभन्दा राम्रो के लाग्छ ?”

“तिम्रो सबैभन्दा राम्रो भुँडी नै लाग्छ मलाई । बाटुलो, अनि ठूलो त्यसैमा पल्टेर आराम गरे पनि हुने । अझ भनूँ ? तिम्रो भुँडी तिमीलाई अत्यन्त मनपर्ने अत्यन्त ठूलो आलु जस्तै राम्रो लाग्छ । त्यही आलु के । विकाशे मलले गर्दा किसानको उत्पादन–प्रतियोगितामा आकारमा सर्वप्रथम ठूलो भएको आलुजस्तै । तिम्रो भुँडी पनि कहाँ कमको छ र । भुँडी प्रतियोगितामा तिमीलाई सामेल गरिदियो भने आकारमा अवश्य नै सबैलाई तिमीले नै जित्छ्यौ ।”

“मैले मेरो राम्रो अनुहारको भागमा तपाईंलाई कुन चाहिँ मनपर्छ भनेको पो त । मेरो के चाहिँ मनपर्छ ? भनी हाल्नोस् छिटो । नत्र हेर्नोस्, नत्र म के गर्नेछु घरमा आएपछि । त्यतिबेला देख्नुहुनेछ मेरो तागत । मेरो अनुहारको कुन चाहिँ भाग राम्रो लाग्छ ? भन्ने कि नभन्ने ? यहीँबाट सूट गरिदिऊँ जस्तो लाग्छ तपाईंलाई त । कस्तो रिस उठेको छ मलाई अहिले ।”

“मलाई तिम्रो अनुहारको कुन भाग मनपर्छ भनेको होइन ? ल सुन । जब तिमी उसिनेको आलु आफ्ना लामा लामा आदिम झल्कने नङ्ग्राले छोडाएर त्यसलाई ठूलो बूजो हाल्दै मस्तसँग त्यसको स्वाद र साथमा प्रशस्त रक्सी पिएर सहयात्री लोग्ने मानिसहरूको अँगालोमा मस्त हुन्छ्यौ नि त्यसबेला तिमीले खित्का छोडेर हाँसेको तिम्रो ठूलो मुख भित्रको बीचको बंगारा राम्रो लाग्छ । ठूलो ढब्बु अनुहारभित्र खित्का छोडेर हाँस्दा अगाडि देखा परेको खास एउटा मसिनो चुच्चे बंगारा अति राम्रो लाग्छ । त्यसरी नै बेसरी अहिले हाँसन । मेरो क्यामेरा तिमीतिर फर्केर तैयार छ ।”

“साँच्चै हो डियर ? म कति धेरै भाग्यमानी । म कति धेरै सुखी । तपाईंलाई धेरैधेरै धन्यवाद ! हा…हा… हा…हा… हा…हा…”
+ + +

“म भर्खरै घर आइपुगेँ । तपाईं भने जुन सुटकेश लिएर यो घरमा आउनुभएको थियो आफ्ना सामान त्यही सुटकेशमा हालेर जानुहुँदैछ ?”

“हो जाँदैछु । जहाँबाट आएको थिएँ कहिले नफर्किने गरी त्यतैतिर जाँदैछु ।”

“अनि हाम्री छोरी नि ?”

“त्यो तिम्री छोरी हो ।”

छोरीचाहिँ डिजिटल क्यामरा हातमा लिँदै खुशीको मुडमा आमाबाबुको अगाडि देखा परेर उभिइँदै बोल्छे, “ड्याडी ट्रेकिङमा जानुहुँदैछ हो ? विरामी मुमाकहाँ जाँदै हुनुहुन्छ हो ? त्यति धेरै सामान किन नि ?”

गम्भीर मुद्रामा “त्यसै । मलाई चाहियो, त्यसैले ।”

छोरीलाई उसको निधारमा, चिउँडोमा र गालामा स्नेहले म्वाइ खान्छन् । श्रीमतीको कानमा सुटुक्क केही बोल्छन् ।
छोरी एकनासले बोलिरहन्छे, “ममी र ड्याडीसँगै बसेको एउटा पिक्चर लिन्छु । तपाईंहरू दुवैजना एक्कैछिन, एकै ठाउँमा बसिदिनुहोस् न । एक्कैछिन, प्लिज, केवल एकैछिन ।”

उसको ड्याडी एकैछिन सँगै उभिदिन्छ । छोरीले फोटो खिचेपछि तुरुन्त नटेरी हिँडेको देखेर छोरी दिक्क मानेर रिसाउन थाल्छे ।

छोरीकी आमाचाहिँ आपूmले विदेशबाट ल्याएका सम्पूर्ण सामानहरू एकै ठाउँमा एक थुप्रो लगाएर रुन थाल्छिन् डाँको छोडेर नै अति कारुणिक मुद्रामा । छोरीलाई अचम्म लाग्छ ड्याडी र ममीको व्यवहार देखेर ।

आमाचाहिँ बेहाल गरेर आफ्नो मोटो शरीर नै फालेझैँ गरेर आवाज दिएर रुन थाल्छिन् । उनका आँखाबाट बलिन्द्र आँशुका धारा नाकबाट बगेको अर्को पन्यालोसँग मिसिएर बगिरहेका हुन्छन्… निरन्तर… अविरल ।

छोरीले अचम्म मानेर आमालाई सोधी “तपाईं किन यसरी रुँदै हुनुहुन्छ ?” आमाचाहिँको जवाफ, “तिम्रो ड्याडी अब कहिल्यै पनि हाम्रो घर फर्कनु हुन्न रे । मेरो कानमा उहाँले त्यही भनेर हामीलाई छोडेर जानुभयो ।”

छोरीको जवाफ, “अँ होला ? ड्याडीले हामीलाई छोड्न त त्यत्तिकै । त्यसै त्यसो भनिदिनुभएको हो । तपाईंले पत्याउनु भाको ?”

छोरीका अनुहार माथि आफ्नो निर्दोष अनुहार टाँगेर त्यति भन्दै लोग्नेलाई ल्याएका उपहारका सामानहरू कोठाभरि छरिदिइन् । ती उपहारका तीन महत्वपूर्ण सामानहरू निम्न प्रकारका हुन्छन् :

(क) खुला पेटी बजारका भेटिएको एकजोर नाइटसुट

(ख) भन्सार फ्री एक बोत्तल विदेशी रक्सी

(ग) सुपरमार्केका धेरैथरी प्याकेटका सबभन्दा उच्च स्तरीय आलु चिप्सहरू ।

अक्टोबर १८, २००५
सिकागो, अमेरिका

 

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।