Logo कार्तिक १४, २०७७ शुक्रबार


कविता : दैव

-राधिका कल्पित

भुईचालो आउने साल
बाथले कुँजिएकी आमा
मृत्युलाई उछिन्दै सकिनन् कुद्न
र च्यापिइन् घरको धुरीखामोले
क्यार्नि त नि दैवको खेला
दुखै लुकाइन् बुढीआमैले भनेर चित्त बुझाएँ ।
भुकम्पले आधि बनाइदिएको एकपाखे पाली
दसैँमा त यसो सिङ्गार्न पर्यो नि भन्दै
रातो माटो खन्न गएकी बुढी
माटोको ढिस्को खसेर
माटोमै मिसिई
मेरो पुर्पुरो यस्तै रैछ भनेर
उध्रेको यो मन धैर्यको धागोले खुटेर सिलाएँ ।
सर्वहाराको को नै शत्रु हुन्छन् र झैँ लाग्थ्यो
तर रहेछ एउटा बैरीस् दैव
परार साल खै किन हो
खहरेलाई पनि
कुन जुनीको रिस
मै माथि पोख्नु थियो
पस्यो मेरो सिकुवा हुँदै
र लग्यो सोहोरेर काखकी छोरी
र एक कोठे मेरो दरवार
सायद दैवको प्रीत दुखीसँग बस्ने रैछ कि भनेर मन बुझाएँ ।
पोहोर साल
खै कस्तो कामज्वरो हो
बस्ती बस्तीमा काल बनेर छिर्यो
कामजोरोले थलिएको मेरो छोरोका लागि
ओखती किन्न सखारै शहरतिर तिर हानिएको म
डाँडामा घाम अस्ताउँने बेला आँगनमा पुग्दा
मेरो जीवनबाट छोरो अस्ताइसकेको रहेछ
दाहसंस्कार गरौँ दाम भएन
चिहान खन्नलाई आफ्नो ठाम थिएन
उपाय नलागेर
अँगेनोमा खाल्डो खनेर गाडेको दिनदेखि
अँगेनामा आगो बाल्न मन लाग्दैन ।
भए जतिका प्यारा मान्छेको
सतगति गर्ने यी अलच्छिना हातले
किन भरिरहनु पर्यो काट्टो यो पापी पेटमा ?
आजकल मलाई
पानीले पनि गल लाग्छ
नुनको ढिको अल्नो लाग्छ
घर मसानघाट झैँ लाग्छ ।
सुन्छु जताततै
महामारी आएको छ रे
एकएक गरेर लैँजादै छ रे
अधैर्य भई पालो कुरिरहेछु म
अचम्म लागिरहेछ
किन आउँदैन काल मेरो झुपडीतिर ?
मैले नबुझेको कुरो !?
के मर्नलाई पनि औकात चाहिन्छ हो ?

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।