प्रसिद्ध राराताल जाने छोटो सडक बाटो निर्माण,पर्यटकलाई थप सहज

मुगु । मुगुको प्रसिद्ध राराताल जाने छोटो सडकबाटो निर्माण भएको छ । छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । जुम्लाको खलंगा बजारदेखि राराताल जाने छोटो सडक निर्माण भएको हो ।
कर्णाली राजमार्गको नाग्म–गमगडी सडकभन्दा यो सडकबाट राराताल झन्डै ३ घन्टामा छिटो पुग्ने सकिन्छ । कर्णाली प्रदेश सरकारबाट खलंगा–रारा सडकको स्तरोन्नति गरिएपछि यात्रा सहज भएको हो ।
यो सडकमा अहिले दैनिक २–३ गाडी पर्यटक ओहोरदोहार गर्ने गरेको पातारासी गाउँपालिका स्थानीय जयबहादुर बुढाले बताउनुभयो । यो सडकबाट यात्रा गर्दा पर्यटकले मनै लोभ्याउने प्रकृतिको दृश्यको आनन्द समेत लिन सकिने उहाँले बताउनुभयाे ।
केही पर्यटक भने जहाजबाट सदरमुकाम पुगेर खलंगाबाट छोटो सडक हुँदै रारा र सिँजा–नाग्म–गमगडी सडकबाट फर्कने गरेको स्थानीय बताउँछन् । खलंगा–रारा सडक स्तरोन्नतिको काम भइरहेको छ । यो सडक ग्राभेल गर्ने हो भने बर्सेनि पर्यटक ओइरो लाग्न सक्ने उनीहरूको दाबी छ ।
नाग्म–गमगडी सडक हुँदै राराताल जाँदा ८ घन्टा लाग्छ । तर, खलंगा–रारा सडक हुँदै जाँदा ५ घन्टामा रारा ताल पुगिन्छ ।
यो सडक निर्माण तथा स्तरोन्नतिमा पातारासीले ७५ लाख, चन्दननाथले ५० लाख र कर्णाली प्रदेश सरकारले ३५ करोड बजेट विनियोजन गरेका छन् ।