इलाम नगरपालिकामा पचास वटा माछापोखरी निर्माण हुने

सांकेतिक तस्बिर
भगीरथ भण्डारी
इलाम । इलाम नगरपालिकामा चालु आर्थिक वर्षमा ५० वटा माछापोखरी निर्माण हुने भएको छ । व्यावसायिक माछापालन कार्यक्रम अनुदान अन्तर्गत इलाम नगरपालिका ११ वटा वडामा सञ्चालन हुनेछन् ।
इलाम नगरपालिका वडा नम्बर ७ बाहेक अन्य बाँकी वडाहरुमा ५० वटा माछापोखरी निर्माण हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहले बताउनुभयाे । एउटा माछा पोखरिमा ४० हजारका दरले अनुदान सहयोग दिइने भएकाे छ ।
पोखरी निर्माण गर्दा १६ मिटर लम्वाइ ८ मिटर चौडाइ भएको माछापोखरी निर्माण हुनुपर्ने छ । व्यावसायिक रुपमा माछापालन गर्ने किसानका लागि विभिन्न समूह, फर्म र कृषकलाई सहयोग पुगोस् भनेर उपलब्ध गराइएको छ । नगर पालिकाले ५० जना कृषकहरुको नाम छनौट गरेको छ भने ४० जना कृषक वैकल्पिक छनोटमा परेको शाहको भनाइ छ ।
माछापोखरी निर्माणपश्चात नेपालमा मत्स्यपालनका लागि सिफारिस भएका कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प, रोहु, नैनी, भाकुर, रेन्बो ट्राउट, पंगास प्रजाति, नाइल टिलापिया जातका माछा भूगोलका आधारमा पालन गरिने कृषि शाखाका प्राविधिक उपेन्द्र नेपालले बताएका छन्।