व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।
हेलिकोप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिनुभयो ।
पहिलो चरणमा १ सय ८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।
खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताउनुभयो ।