महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्याे

बागलुङ । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् ।
दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९ सयल ५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताउनुभयो ।
मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ ।
मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “यसपालि च्याङ्ग्रा कम छन्, गत वर्ष १०० भन्दा बढी च्याङ्ग्रा ल्याउँथे, यसपालि मुस्ताङमै महङ्गो मूल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु”, उहाँले भन्नुभयो, “भाउ सुन्दै ग्राहक डराउन थालेपछि चार दिनमा बल्ल १२ वटा च्याङ्ग्रा बेच्न सफल भएँ, यिनै च्याङ्ग्रा बेच्न पनि मुस्किल होलाजस्तो भयो ।” उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् ।
एउटा च्याङ्ग्रा खरिद गर्ने रकमले दुई/ तीनवटा खसी आउने भएपछि यसको विकल्प खोज्न थालेका हुन् ।