Logo मंसिर १०, २०७७ बुधबार


देशभरका उत्कृष्ट मुक्तककारहरू एकैठाउँमा भेला

मुक्तकमा लयचेतको पुनर्जागरण
उठायौ तिमीले म अग्लेँ मजाले
निफन्दा निफन्दा म सग्लेँ मजाले
तिमी अग्नि तातो बनी छेउ आयौ
थिएँ ठ‍ोस नौनी म पग्लेँ मजाले !
(रत्नविरही घिमिरे)

छन्दोवद्ध मुक्तकको लयबद्ध वाचनबाट कार्यक्रम शुरु भयो । कार्यक्रमका सञ्चालक थिए गणेश खतिवडा र शिवराम खड्का । देशभरीका उत्कृष्ट मुक्तककारहरू एकैठाउँमा भेला भएका थिए । साँझको समय उल्लासमय थियो साथमा मुक्तकको माहोल । कात्तिक १ गते साँझको ठीक छ बजे तोकिएकै समयमा कार्यक्रम शुरु भयो र यो सन्दर्भ जुटाएको थियो दियालो साहित्य सरगमले ।

चितवन वन विल्का फेरि वाहाल् चलाया
चहुँदिश पनि वैरी बैरिका पित् गलाया
वरिपरि बसि वैरी मन्मनै मन् जलाया
छुटफुट पसि आया गुन् लिया काम लाया ।
(उदयानन्द अर्याल)

वीरगाथा कालका कवि उदयानन्द अर्याल तथा आधुनिक कालको पूर्वार्धका कवि महानन्द सापकोटाका छन्दका मुक्तकबाट उठान गरिएको कार्यक्रममा नेपालका सातै प्रदेशका चर्चित मुक्तककारका मुक्तकले कार्यक्रमलाई निकै उचाईमा पुर्‍याएको थियो । सुदूर पूर्व इलामकी मुक्तककार पुष्पा खनालदेखि सुदूर पश्चिम डडेल्धुराकी मुक्तककार पार्वती भट्टसम्म समेटिएको कार्यक्रममा हरिकृष्ण काफ्ले, सुनिल अधिकारी, सन्तोष अम्गाईँ, सरला लामिछाने लगायतले एक पछि अर्को अझै सशक्त र खँदिला मुक्तक प्रस्तुत गर्दै जाँदा साँढे दुई घण्टाको समय फुत्तै बितेको पत्तै भएन ।

कहाँ पुग्छ्यौ र के गर्छ्यौ खबरदारी भयो जीवन
घरी माया घरी घुर्की लुकामारी भयो जीवन
म तिम्रो अङ्गरक्षकझैँ यता डुल्दा उता घुम्दा
कतै घोच्ने कतै कोर्ने बयरघारी भयो जीवन
(गणेशप्रसाद खतिवडा)

प्रस्तोता शिवराम खड्का र गणेश खतिवडाले जवाफी मुक्तकका रूपमा बिचबिचमा छन्दोबद्ध मुक्तकका लयबद्ध प्रस्तुति थप्दै लगेका थिए । वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले अतिथि मुक्तककारका रूपमा उस्तै मिठा मुक्तकको स्वाद पस्के ।

उता मूल फुट्दा यता भो खडेरी
दियालो निभेझैँ छ मनको मझेरी
सिसाकै थियो दिल फुटायौ झर्याम्म !
र पो टिल्पिलायो नयनको पँधेरी !!
(शिवराम खड्का)

समालोचक ज्ञानु अधिकारीले गर्नुभएको समीक्षात्मक टिप्पणी तथा प्रमुख अतिथि रहनुभएका प्राज्ञ डा देवी नेपालले दिनुभएको ऐतिहासिक मन्तव्यले कार्यक्रमलाई विशिष्ट बनाएको थियो । नेपालले मुक्तक लेखनको बारेमा ऐतिहासिक, सैदान्तिक र संरचनात्मक कुरालाई व्यवस्थित ढंगले व्याख्या गर्दै मुक्तकमा लय हुनुपर्ने कुराको पुष्टि समेत गर्नुभयो ।

ढलेको घडाझैँ भयो जिन्दगानी
निभेको दियोझैँ छ मेरो कहानी
तिमी बस्न खोज्छौ नयनका कुनामा
जहाँभित्र केवल छचल्किन्छ पानी ।
(प्रतीक्षा पोख्रेल)

मुक्तकमा लयचेतको पुनर्जागरण गराउन दियालो साहित्य सरगमले एउटा अभियान नै थालेको छ । विसं २०७५ चैत्र ८ गते राष्ट्रिय नाचघरबाट यस प्रकारको अभियान थालेको र यो कार्यक्रम त्यसैको निरन्तरता रहेको कुरा दियालो साहित्य सरगमका उपाध्यक्ष शिवराम खड्काले जनाउनुभएको छ । साथै यसरी लयलाई नै प्राथमिकतामा राखेर गजल र मुक्तकका अन्य कार्यक्रमहरू गर्दै जाने तथा छन्द र मुक्तछन्दलाई बराबरी प्राथमिकता दिएर कविताका कार्यक्रम गर्ने कुरा दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…