शय्याको अभावमा ज्यान गुमाउँदै बिरामी

सुनसरी । बुधबार राती धरान उपमहानगरपालिका – १६ का ४९ वर्षीय एक शिक्षकको होम आइसोलेशनम मृत्यु भयो । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शय्या सोध्दासोध्दै उहाँको ज्यान गएको हो ।
त्यस्तै बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उहाँलाई पनि प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पुग्नेबित्तिकै उहाँको ज्यान गयाे ।
धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो । एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेका उहाँलाई कोरोना संक्रमण भयो । प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उहाँको ज्यान गयो ।
धरानमा मात्र अस्पताल जान नपाई १३ जनाको होम आइसोलेशनमा मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिष्ठानको तथ्याङ्कअनुसार मंगलबार बिहानसम्म ६६ संक्रमितले ज्यान गुमाएको प्रतिष्ठानका सहप्रवक्ता डा.शाशिष श्रेष्ठले जानकारी दिनु भयो । प्रदेश नं १ मा सोमबार साँझसम्म मृतकको संख्या १ सय ३६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रदेश सरकारले गत जेठमै दुई हजार शय्याको आइसोलेशन वार्ड बनाउने घोषणा गरे पनि अहिलेसम्म काम शुरु भएको छैन । प्रत्येक स्थानीय तहमा १५ शय्याको आइसोलेशनसहितको अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन् । बिरामीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । प्रतिष्ठानले बिरामीको चाप थेग्न नसक्ने भनी सम्पर्क गरेर मात्र ल्याउन अस्पताल प्रशासनले १५ दिनअघि सूचना नै जारी गरेको थियो ।
बिरामी धान्न नसकेको जनाई अस्पताल प्रशासनले स्थानीय तहलाई लकडाउन गर्नसमेत सुझाव दिएको थियो ।
पछिल्लो समय संक्रमित चौगुना बढेका छन् । सोमबार ८९ र मंगलबार २ सय ६ जनामा संक्रमण पुष्टि भयो । पिसिआर परीक्षणको दायरा घटाइए पनि संक्रमितको दर भने बढेर गएको छ । दशैँका लागि किनमेल गर्नेले स्वास्थ्य मापदण्ड बेवास्ता गर्दै बजार–पसलमा भीड गरेकाले अझ भयावह अवस्था आउने चिकित्सक बताउँछन् । अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको उनीहरुको भनाइ छ । संक्रमण बृद्धिअनुसार प्रदेश सरकार र स्थानीय तहको तयारी भने नदेखिएको चिकित्सकको भनाइ छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले लक्षणसहितका बिरामी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताउनुभयो । प्रतिष्ठानका करीब तीन सय चिकित्सक, कर्मचारी र नर्स सङ्क्रमित भएका छन् ।