कपिलवस्तुको मायादेवीमा वडाध्यक्षद्वारा वडासचिव कुटिए

सनीउल्ला धोवी
कपिलवस्तु । मायादेवी गाँउपालिका वडा नं ७ का अध्यक्ष जनार्द्धनप्रसाद चौधरीले वडा सचिव रामेश गुप्तालाई कुटपिट गरेका छन् । जन्म दर्ताको मिति सच्चाउने विषयमा विवाद हुदा वडाध्यक्ष चौधरीले वडा सचिव गुप्तालाई कुटपिट गरेका हुन् ।
वडाध्यक्ष चौधरीले बुधबार बिहान १० बजे कार्यालय खुल्ने वित्तिकै सचिवमाथि हातपात गरेको वडा सचिव रामेश गुप्ताले जानकारी दिनुभयो । वडाध्यक्ष दादगिरी शैलीमा आफूमाथि कुटपिट गरेको वडा सचिव गुप्ताले बताउनुभयो ।
वडाध्यक्ष जनार्द्धन चौधरीले जन्मदर्ताको अभिलेख माग गर्दा समान्य विवाद भएको तर आफूले हातपात नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सविचलाई पटकपटक अभिलेख माग गर्दा बहाना बनाउँदै दराजको साँचो नदिएपछि साँचो मात्र खोसेको हुँ ।”
वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।