जलालावादमा भागदौड हुँदा १२ महिलाको मृत्यु

अफगानिस्तान । जलालावादमा भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको छ । पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा भागदौड हुँदा १२ महिलाको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका हुन् ।
सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष गरेर हल्ला मच्चाइएको र महिलाहरु भागदौडमा परेका थिए ।
त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो । त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए । घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ ।
मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन ।