गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निःशुल्क

कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ । बुधबार बसेकेाे मन्त्रिपरिषद्को बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा आएका प्रतिक्रियाकाे पछि नलाग्न सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । संक्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएकाेमा हालै दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको हाे ।
साथै, सरकारले दशैँ, दीपावली, नेपाल संवत्, छठलगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न प्रदेशवासीमा आग्रह समेत गरेको छ ।