३२ लाख लागतमा महिला उद्यमशील तालिम केन्द्र सञ्चालन

चितवन । जिल्लामा महिला उद्यमशील केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो ।
भरतपुर महानगरपालिकाको रु. २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो ।
रोजगार सिर्जना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सीप सिकाइमा उपयोगी हुने बताउनुभयो ।
समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियो ।