गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

काठमाडौं । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबार बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।
फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर जानुभएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उहाँले बताउनुभयो । सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।