कोरोना कहरकाबीच सेवासुविधा थप्दै पर्वत अस्पताल

राजन पौडेल
पर्वत । जिल्ला अस्पताल पर्वतले एकपछि अर्काे सेवा थप्दै गएकाे छ । काेराेना महामारीकाबीच पनि अस्पतलले बिरामीका लागि सेवासुविधा थप गर्दै गएकाे हाे ।
आइसियु, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि यहाँबाट काठमाडाैं, पोखरा जानु पर्ने बाध्यतामा रहेका बिरामीकाे समस्या हटेका छन् । अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना शुरु गरेको हो ।
अस्पताल ५– ५ बेडका भेन्टिलेटर र आइसियु बेड स्थापना गर्ने तयारी भएपनि तत्काल आवश्यक पर्दा ३–३ बेड सञ्चालनमा आइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरेको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी बुधबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको छ । अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा, काठमाडौं बिरामी पठाउनुपर्ने अवस्था नआउने पहाडीले बताउनुभयो ।
१५ शैयाको पर्वत अस्पताललाई आवश्यक पर्ने र माग आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ । पहाडीले अक्सिजनको अभावमा अस्पतालले शल्यक्रिया समेत रोक्नु परेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पुग्ने व्यवस्था अस्पताले मिलाएको छ । अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका बिरामी धेरै सेवा लिन आउने गर्दछन ।
आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गरेसंगै यस्ता बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ । अस्पतालमा आइसियु र भेन्टिलेटरको सुबिधा समेत थप भएको छ । अस्पतालमा पहिलो चरणमा १० बेडमा अक्सिजन लिन सक्ने गरी पाईप लाईन जडान गरिएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देबकोटाले जानकारी दिनुभयाे ।
अहिले अस्पतालमा दैनिक ५ देखि ६ सिलिण्डर अक्सिजन खपत हुँदै आएको देबकोटाले बताउनुभयो । एक सिलिण्डरमा एक सय लिटर अक्सिजन उत्पादन हुने र प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डरसम्म रहेको उहाँको भनाइ छ । विशेषगरी चिसोको समयमा अस्पतालमा अक्सिजनको अत्याधिक खपत हुने गरेको पनि उहाँले बताउनुभयो ।