Logo बैशाख २, २०७८ बिहीबार


दसैँ बहिष्कार, दसैँ तिरस्कार !

कति सय वर्ष पहिलेका पुर्खाहरुलाई तपाईँ आफ्ना पुर्खा र कति सय वर्ष पहिलेका पुर्खाहरुलाई अरुका पुर्खा भन्नुहुन्छ ? कति सय वर्षपहिलेका पुर्खाको संस्कृतिलाई आफनो संस्कृति र कति सय वर्षपहिलेका पुर्खाको संस्कृतिलाई अर्काको संस्कृति भन्नुहुन्छ ? यति कुरा त जाहेर छ कि नेपालमा सयौँ वर्षदेखि दसैँ मनाइँदै आएको छ । पूर्खाको संस्कृति मात्र मान्ने हो भने कुन समयसम्मको पुर्खाको कुरा गर्नुहुन्छ । रामापिथेकससम्म पुगिन्छ हजुर, जसले लुगासमेत लगाउदैनथे, के अब त्यसै गर्ने ? सभ्यता र संस्कृति विभिन्न समुदाय र परम्पराका अन्तर्घुलन, अन्तर्क्रिया र आदानप्रदानबाटै विकास हुने कुरा त होलान् नि।

-भरत साउद

सधैँ जस्तो यसपालीको दसैँमा पनि शुभकामनाले भरिएको इनबक्समा रहेका बढीजसो सन्देशहरुमा उल्लेख छ – हिन्दूहरुको महान चाड बडादसैँको मंगलमय शुभकामना । सचेततापूर्वक योजनाबद्ध हो या स्वस्पूर्त अचेतनबाट हो यी सन्देशहरुमा हिन्दूहरुको चाड पदावली प्रयोग गरिएका छन् । दसैँ हिन्दूहरुको मात्र चाड हो या यसको नेपाली सांस्कृतिक महत्व पनि छ – मनमा लागिरहने प्रश्न हो यो ।

आधुनिकताको साह्रै नगन्य प्रभाव रहेको र राज्यको शून्यप्राय उपस्थिति रहेको सुदूर पहाडको कुनै दुर्गम कन्दरामा अवस्थित ग्रामीण भेगमा हुर्किरहँदा न आफू हिन्दू भएको कुरा थाहा थियो न खसआर्य भएको भेउ पत्तो नै थियो । वर्षमा दुई पटक दसैँ मनाउने परम्परामा चैते दसैँ र असाेजे दसैँ दुवैको उत्तिकै महिमा थियो । बराबर न कम न बेसी । दसैँ परिभाषामा विद्यालयमा अलि लामै छुट्टी हुने, घरमा सेलपुरी पाक्ने, देवीका मौलामा बली दिने, टीका जमरा लाउने आदि कुरा पर्थे । टीका भनेको दहीमा मुछेका चामल हुन्थे, रातो रङ त कुनै हुनेखाने सम्पन्न बम्बैवालाका घरमा हुन्थ्यो कि कुन्नि ! नत्र दसैँको टीका सेतै हुन्थ्यो निधारभरि ।

बुवाका मावली पर्ने दैलेखका माझीहरु, साउदहरु, कुइकाका तिमिल्सिना बाहुनहरु, चाल्साका थापाहरु, बज्यैका मीत मामा पर्ने घाटगाउँका मगरहरु सबैकामा दसैँको परिभाषा त्यही थियो फरक थिएन । रातो अबिर त मस्टाका धामीले लगाएको देखेको हो बस् । साउनमा श्रावण शुक्ल चतुर्दशीमा कूल देउताको पूजा हुन्थ्यो । गाउँमा अलग अलग जातका अलग अलग थान थिए कूल देउताका । सेतो पगरी, सेतै जामासुरुवालमा सजिएका निधारमा रातो ठाडो टीका लाएका मस्टाका धामी कूलपूजाका मुख्य पुजारी हुन्थे । मस्टो देउताले पनि पाठा(बलि) खान्थे/खान्छन् । फरक कुरा हो – समय बदलिएको छ ।

(हिजोआज केही वर्ष यता टड्कारै सुनिन थालेको आवाज हो – दसैँ बहिष्कार, दसैँ तिरस्कार । त्यत्तिकै उग्रताका साथ सुनिन थालेको अर्को आवाज हो – दसैँमा पशुवली वहिष्कार, मांशहारी भोजन तिरस्कार । यी दुईथरी अतिवादी आवाजहरु किन यति टड्कारा भइरहेका छन् र यिनका पछाडिको शक्ति कहाँबाट आइरहेको छ त्यो अलग अध्ययनको विषय हो तर तिनको अभीष्ट र असरहरु कति घातक हुन सक्छन् भन्नेबारे समेत बहस भइरहेका छैनन् त्यो चिन्ताजनक कुरा हो ।)

दसैँ बहिष्कारको संकथन

आधुनिकता भित्रिएको छ । मान्छेहरुले पढेर जान्ने भएका छन् । पहिचानवाला मुद्दा भित्रिएको छ । लोकतन्त्र छ मानिसले बोल्ने लेख्ने स्वतन्त्रता पाएका छन् । अनेक नयाँनयाँ संकथनहरु बनेका छन् । तीमध्ये पहिलो थरि संकथनको मत छ – दसैँ केवल हिन्दूहरुको चाड हो । राई, लिम्बू, मगर, गुरुङ, तामाङ, नेवार र थकाली आदि पहाडी आदिवासी जनजातिहरुकोहरुको चाड यो होइन । अझ आफूलाई मङ्गोलियन जातीय पहिचानवादी भन्न रुचाउने कतिले त सांगठनिक रुपमै दसैँ बहिष्कार अभियान पनि चलाइरहेका हुन्छन् । त्यति मात्र होइन उनीहरु यसलाई नेपालको राजनीतिक इतिहाससँग जोडेर बाहुनक्षेत्री खसआर्य हिन्दूहरुका पुर्खाले पृथ्वीनारायण शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरणको नाममा गरिएको राज्यविस्तारमा हाम्रो राज्य हडप्ने क्रममा हाम्रा पुर्खाको रगतमा मुछेर विजयोत्सव मनाउँदा रातो टीका लगाएको दाबी गर्दैे दसैँको टीकालाई त्यसैको प्रतिक भएको भनेर प्रतिशोध र तिरस्कारको आह्वान समेत गरिरहेका हुन्छन् । त्यति मात्र पनि होइन त्यसपछि आफ्नै पुर्खाको पराजयमा मनाइने विजया दशमी मनाउन हामीलाई बाहुन क्षेत्रीको राज्य सत्ताले जबरजस्ती गरेको हो भन्ने उनीहरुको मत छ ।

यस्तो संकथन निर्माण गरिरहेका मध्ये केही नरमपन्थीहरु दसैँ केवल हिन्दू धर्मको धार्मिक चाड मात्र नभई नेपाली साँस्कृतिक चाड भएकाले बहिष्कार गर्नु आवश्यक नभए पनि खसआर्य शासकका पुर्खाले मंगोलियन आदिवासीका पुर्खामाथि गरेको विजयोत्सवस्वरुप रातो टीका लगाइएकाले दसैमा रातो टीका बहिष्कार गर्ने र सेतो टीका चाहिँ लगाउन पर्ने मत राख्छन् । थप चाखलाग्दो कुरा के छ भने यस्तो अभियानकर्ताहरुमा ग्रामीण सिधासाधा जनसाधारणहरु होइनन् समाजका टाठाबाठा भनिने अंग्रेजी पढेका जासु/अजासु (जान्नेसुन्ने/अति जान्नेसुन्ने) बुद्धिजीवी, पत्रकार, लेखक, अधिकारकर्मी, राजनीतिक विद्वता भएका भनिएका सचेत तथा शहरीया पहुँचवालाहरु हुनुहुन्छ ।

धेरै पढेका, शास्त्र पर्गेल्ने ल्याकत भएका, अभियानकर्मी, जातीय चेतले ओतप्रोत इतिहासविद, विद्वानहरुसँग शास्त्रार्थ गर्ने आँट त कहाँ गर्न सक्नु तर आफू लाई लाग्ने कुरा नि – पुर्खाहरुको राजनीतिक लडाइँ थियो भनेर सात पुस्तापछिका नातिनातिनाहरु पनि काटाकाट लुछालुछ, भनाभन, बहिष्कारतिरष्कार, प्रतिशोधघृणा गरिरहनु पर्ने हो ? नगरे हुन्न ? राज्यको इतिहास हेर्ने हो भने कति लडाइँ भए होलान् । त्यसमा मारिनेहरु पनि हामीमध्ये कसै न कसैका पुर्खा नै त होलान् । तिनलाई मार्ने पनि हामी मध्येकै कसै न कसैका पुर्खा नै त हुदाँ हुन् । त्यसको अर्थ आज हामी परस्पर प्रतिशोध गर्नु कति विवेकपूर्ण होला । आज हामीले मनाउने चाडपर्व, रीतिरिवाज, हामीले अनुसरण गरेका सांस्कृतिक मूल्य मान्यता केवल एक जाति वा समुदाय वा कविलाका पुर्खाले मात्र सुरु गरेका होलान् ? के बाँकी सबैले तिनलाई बहिष्कार गर्नु ? एकथरि मेरा मित्रहरु दक्षिण र पश्चिमबाट आएका आप्रवासी टाठाबाठा खुराफाती बाहुनक्षेत्री खसआर्यहरुले यस देशका सोझासाझा आदिवासीहरुमाथि षडयन्त्रपूर्वक शासन गरे, थिचोमिचो गरे, उनीहरुको जमिन हडपे, संस्कृतिमाथि हस्तक्षेप गरे आफ्नाे संस्कृति लादे भन्ने जस्ता विचारोत्तेजक कुरा गर्छन् । होला उनीहरुको करामा सत्यता नै छ होला । तर जिज्ञासा नि – एउटा मानिस बाँच्ने भनेको बढीभन्दा बढी एक सय वर्षको हाराहारीमा हो । त्यस एक सय वर्षको आयुमा कति सय पहिलेसम्मका कुरा ल्याएर अरुलाई घृणा गर्नु उपयुक्त होला, कति सय वर्षसम्म पछाडि फर्केर आपसमा लडाइँ गर्नु उपयुक्त होला !

आदिवासीको शास्त्रबद्ध परिभाषा के हो म जान्दिन । कुनै भूमिमा कति सय वर्ष पहिले आएको मानिस आदिवासी हुने हो र कति सय वर्षपछि आएको मानिस आप्रवासी हुने हो म जान्दिन तर यति त पक्का हो मानिसको स्वभाव घुमन्ते छ । सभ्यताको विकासक्रममा उसले धर्तीमा निहीत यस भवसागरका अनेक द्विपहरुको यात्रा तय गरेको छ । त्यसैले कोही पनि कुनै ठाउँमा त्यही उत्पत्ति भएको र अन्त कतैबाट नआएको भन्ने छैन । त्यो केवल धेरै वा थोरै समयको कुरा मात्र हो । कुनै भूमि कसैका पुर्खाको होइन भन्ने हो भने त्यसको उद्गम खोज्न कति परसम्म जाने हो । साँच्चै पुर्खाकै भूमि खोज्दै जाने हो भने अफ्रिकी महादेशको सभानाहा र भेल्डका घाँसे मैदानहरुमै पुगिन्छ । अब आदिवासी हुन तपाई त्यतै लाग्नुहुन्छ ? आजको मानिसको पुर्खा खोज्दै जाँदा होमोइरेक्टस सम्म पुगिन्छ जसले उत्तरपश्चिमी अफ्रिकन जंगल छाडेर संसारका अन्य ठाउँहरुतिर बसाइ सर्न सुरु गर्यो । आजको दिनसम्मका सबैभन्दा पछिल्ला मानवशास्त्रीय अध्ययनहरुको साझा निष्कर्ष कम्तीमा पनि त्यही हो । अझ पुर्खा खोज्न त्यसभन्दा पनि पहिले जाने हो भने होमिनिड नरवानर सम्म पुगिन्छ । तपैँको यात्रा त्यतैतिरको हो ? नत्र परस्पर मित्रताका आधारमा सांस्कृतिक आदानप्रदान गरेर मानवीय बन्धुत्व विकास गर्नुपर्ने समयमा तपैँ बुवाबाजेकै पालादेखि साझा रुपले मनाउँने परम्परा बनिसकेको सामाजिक सद्भावको चाडलाई हाम्रा पुर्खाको चाड होइन भनेर किन बहिष्कार गर्दै हुनुहुन्छ ? कति सय वर्ष पहिलेका पुर्खाहरुलाई तपाई आफ्ना पुर्खा र कति सय वर्ष पहिलेका पुर्खाहरुलाई अरुका पुर्खा भन्नुहुन्छ ? कति सय वर्षपहिलेका पुर्खाको संस्कृतिलाई आफनो संस्कृति र कति सय वर्षपहिलेका पुर्खाको संस्कृतिलाई अर्काको संस्कृति भन्नुहुन्छ ? यति कुरा त जाहेर छ कि नेपालमा सयौँ वर्षदेखि दसैँ मनाइँदै आएको छ । पूर्खाको संस्कृति मात्र मान्ने हो भने कुन समयसम्मको पुर्खाको कुरा गर्नुहुन्छ । रामापिथेकससम्म पुगिन्छ हजुर, जसले लुगासमेत लगाउदैनथ्यो, के अब त्यसै गर्ने ? सभ्यता र संस्कृति विभिन्न समुदाय र परम्पराका अन्तर्घुलन, अन्तक्रिया र आदानप्रदानबाटै विकास हुने कुरा त होलान् नि ।

मलाई थाहा छैन म हिन्दू हूँ कि होइन, मलाई थाहा छैन म खस आर्य पनि हूँ कि होइन । मस्टो पुजक मेरा पुर्खाले धेरै काल पछिसम्म पनि दसैँ मनाउन जानेका थिएनन् त्यो चाहिँ मलाई राम्ररी थाहा छ । तिहारमा भाइटीका लाउन सिकेको त बुवाहरुको पालामा मात्र हो रे । तिहारमा देउसी भैलो खेल्ने चलन त मेरो गाउँमा आजभन्दा तीस वर्षअघिसम्म पनि थिएन । तिज मनाउन थालेको त बढीमा बीस वर्ष पनि भएको छैन । आफ्नै मौलिक संस्कृति बोकेको सुदूरपश्चिमको मेरो ग्रामीण वस्तीमा पुस महिनाको पूर्णिमाका दिन भैलो खेल्ने चलन थियो । आज दसैँ, तिहार लगायत सबै चाडपर्वहरु उल्लासपूर्वक मनाइन्छ । यसले समाजमा विभाजन होइन सांस्कृतिक एकताबोध नै बढाएको छ । निश्चय नै हिन्दू धर्मशास्त्र दसैँको आधार होला तर नेपाली संस्कृतिमा यसको मौलिक परम्परा विकास भएको छ । हिन्दू चाडभन्दा बढी यसमा सामाजिक पर्वको बढी अनुभूति हुन्छ । दसैँ इन्डियाको दशहरा जस्तो धार्मिक पर्व होइन । बाबियाको पिङ खेल्ने पर्व, चङ्गा उडाउने पर्व, रातोमाटो र कमेराले घर पोत्ने पर्व, वर्षमा एकपटक मात्र नयाँ लुगा हाल्न सक्नेहरुको पर्व, वर्षभरि ढिडो सिस्नो मात्र खान पाउनेहरुले एकदुई छाक मासुभात, मिठोमसिनो खाने पर्व यो कसरी कुनै खास धार्मिक समुदायको हुन सक्छ । यो ग्रामीण नेपालीको जनजीवनमा भिजेको पर्व हो ।

कुनै चाड कसैले मन लागे मनाउँदा हुन्छ । कसैलाई मन नलागे नमनाउँदा पनि हुन्छ । तर वहिष्कार, तिरष्कार जस्ता घृणाका अभियानले जन्माउने पनि घृणा नै हो । प्रतिशोधका अभियानले जन्माउने पनि प्रतिशोध नै हो । यसले विभाजन नै ल्याउने हो । तपैँले खोजेको त्यो त पक्कै होइन होला । लडाइँमा बलियाले जित्छ र हार्नेले प्रतिशोधको भावना बोकेर बस्छ र आफू बलियो भएको बेला बदला लिन्छ । फेरि हार्नेले मौका हेर्छ । घृणा र प्रतिशोधको यो सिलसिला कहिलेसम्म चलाइरहने ?यसबाट समाजलाई उपलव्धि के होला र । नेपालमा इस्लाम वा अन्य धर्मावलम्बी व्यक्तिहरुले पनि दसैँ बहिष्कार गर्दैनन् बरु दसैँको अवसरमा मनाउनेहरुलाई सुखसमृद्धिको शुभकामना प्रदान गर्छन् । आत्मीयता प्रकट गर्छन् आदानप्रदान गर्छन् । आवश्यकता पनि त्यही हो । दसैँ मनाउनेले ल्होसारको हर्षोल्लासमा सहभागी हुँदा केही बिग्रन्न । छठ मनाउनेले बकरइदको आत्मीयतामा खुशीयाली साटासाट गर्दा केही बिग्रन्न । नेपालको परम्परा पनि यही हो । बहिष्कारको अभियानले यस्तो सौहार्द परम्परालाई बिथोल्न गरेको प्रयास अनौठो छ ।

पशुबलि तिरस्कार

नेपालका कुनै पनि समुदायमा कुनै न कुनै रुपमा देवीदेउताका नाममा पशुपंक्षीको बली दिने परम्परा कायम छ । त्यो नेपाली संस्कृतिको अभिन्न अंग हो । नेपाल धार्मिक सहिष्णुताको देश हो । यो कुनै हिन्दू, इस्लाम वा अन्य कुनै धर्मको बोलवाला भएको देश होइन । प्रकृतिपूजक विभिन्न समुदायसँग हिन्दू, बौद्ध परम्पराहरुको अन्तर्घुलन हुनु यहाँको प्रमुख विशेषता हो । एउटै मन्दिरमा बौद्धमार्गी परम्पराकै जस्ता माने घुमाउने र कालीको मूर्तीमा बलि चढाउने परम्परा यहाँको मौलिकता हो । नेपालका हिन्दूहरु धार्मिक कट्टरता भएका भारतीय वैष्णव वा अन्य सम्प्रदाय जस्ता शाकाहारी होइनन् । उनीहरु प्राय मस्टोपूजक छन् । कूल देवताको रुपमा नेपाली पहाडे हिन्दू भनिने बाहुन क्षेत्रीहरुले मस्टोकै पूजा गर्छन् । त्यहाँ पनि पशुपक्षीको बलि चढाउने प्रचलन थियो छ । शक्ति उपासना गर्दा पशुबली चढाउने परम्परा त हिन्दूहरुकै तान्त्रिक सम्प्रदायहरुमा पनि हुने नै भयो । तर हाल आएर केही पढालेखा, शहरीया, भारतीय धार्मिक स्थलसम्म सहज पहुँच राख्ने, भारतीय धर्मगुरुहरुका सम्प्रदायमा दीक्षित भइरहेकाहरुले बलीप्रथाको विरोध गरिरहेका छन् ।

आज टड्कारो सुनिन थालेको अर्को संकथन हो – पशुबलि क्रुरताको पर्याय हो । पशुपक्षी बध गरेर कसरी धर्म कमाउन सकिन्छ यो त पाप कमाउने कार्य हो । मानिस सत्वगुणी हुनुपर्छ । शाकाहारी हुनुपर्छ । यस किसिमको संकथन यतिमा सीमित छैन उनीहरु जीवहत्या गर्नेहरु पापी हुन् भन्ने प्रमाणित गर्न संस्कृतका श्लोकहरु कण्ठ सुनाउँछन् र तिनलाई प्रमाण दावी गरेर आफ्ना तर्कलाई सही सिद्ध गर्छन् । यो संकथन निर्माण गर्ने अभियन्ताहरु प्राय दसैँलाई हिन्दूहरुको महान चाड भनेर प्रचार गर्छन् र यसलाई विस्तारै दसैँबाट भारतीय हिन्दू धर्मावलम्बीहरुको नवरात्री वा दशेहरा जस्तो बनाउन चाहन्छन् । भारतीय कट्टर हिन्दूवादीहरुका विभिन्न शाखाहरुबाट प्रभावित भएका कतिपय नेपालीहरु जानीनजानी यस्ता अभियानहरुमा सहभागी भइरहेका छन् । उनीहरुको भनाइ सुन्दा निकै सुन्दर लाग्छ । सबै प्राणीको जीवन एउटै हो तिनको प्राण किन लिनु !

यसरी सोच्ने हो भने वास्तवमा सबैको ज्यान उस्तै हो । कसैको पनि हत्या नगरीकन बाँच्नु असाध्य राम्रो कुरा हो । भावुक मानिसहरु पशुहत्या त परको कुरा फूल चुडेको देख्दा वा फर्सीको कलिलो मुन्टा टिप्दा पनि व्यथित बन्न सक्छन् । तर प्रकृतिमा जुन जीव बाँचिरहेको छ त्यसलाई जीवन जोगाउन जीवनदायी उर्जाको निरन्तर आवश्यकता पर्छ र प्रकृतिको कटुयथार्थ यही हो चाहे वनस्पतीबाट होस वा प्राणीबाट त्यस्तो उर्जा अन्य सजीवहरुबाटै प्राप्त गर्नुपर्ने हुन्छ । बाघ बाँच्नको लागि मृगको प्राण लिन्छ । मृग बाँच्नका लागि कलिला कति पूलका पालुवाहरु मेटिनुपर्ने हुन्छ । प्राकृतिक रुपमा मानिस अम्नीभ्रस हो उसलाई बाँच्नका लागि जीव र वनस्पती दुबैबाट आहारा प्राप्त हुन्छ । जसरी बलीदिनु वा मांशहार गर्नुलाई अमानवीय वा पाशविक भनिदै छ त्यसरी सोच्ने हो भने लहलहाउँदा फर्सीका मुन्टा टिपेर कराहीमा पकाउनु, खिलखिलाउँदा पूmल निमोठेर भगवानलाई चढाउने नाममा पत्थरमा सुकाउनु, कलकलाउँदा मकैगहुँका बीज चरचर भुटेर वा धुलो पारेर हजारौँ जीवन नष्ट गर्नु पनि अमानवीय नै होला नि त । एउटा फूल भनेको हजारौँ जीवन जन्माउने भ्रुण हो । त्यसको हत्या भनेको भ्रुणहत्या हो नि । त्यो कसरी मानवीय होला । त्यसैले यसरी सोच्ने हो भने जीवन चल्दैन । त्यसैले हामीसित केवल दुई ओटा मात्र विकल्प छन् पहिलो प्राकृतिक भोजन (मानिसका लागि मांसाहार र शाकाहार दुबै) ग्रहण गरेर जीवन धान्ने, र दोस्रो अरु प्राणी वा वनस्पतीको ज्यान जोगाउन भोकभोकै बसेर आत्महत्या गर्ने । यसमा पक्कै पनि पहिलो विल्प नै बढी व्यावहारिक हो भने भोजनका सम्बन्धमा शाकाहारी वा अन्य कुरा केवल आडम्बर हुन्, ढोङ् हुन् । प्राकृतिक रुपमा मानिस अम्निभ्रस हो ऊ मासु र अन्न–सागपात दुबै खान्छ । त्यसैका लागि हाँस, कुखुरा, बाख्रा, भेडा आदि जनावरको कृषिपालन गरिन्छ । संसारभर मासुका लागि पालिने जनावरको यदि मानिसले मासु नखाने हो भने तिन कसैले पाल्दैनन् र तिनको वंश नै लोप हुन्छ । त्यो झनै अमानवीय कुरा हुन्छ ।

हिजोआज शाकाहारी मानिस श्रेष्ठ, संस्कारी, मानवता भएको, संयम भएको, सदाचारी, धार्मिक, सात्विक र मांसाहार गर्ने मान्छे हिंस्रक, असंस्कारी, राक्षस, क्रुर, दूराचारी, अधार्मिक, तामसी जस्तो गरी शाकाहारी धर्मको पक्षमा संकथन निर्मा भएको छ । जुन आफैमा गलत छ । प्रकृतिमा हेर्ने हो भने मानिसको सबैभन्दा नजिकको नातेदार चिम्पान्जी हेर्दा ऊ अम्निभ्रस नै छ । शारीरिक संरचना हेर्दा पनि मानिस बाघ जस्तो मांसहारी पनि होइन र गाइभैसी जस्तो शाकाहारी पनि होइन भन्ने नै देखिन्छ । उद्विकासको सिद्धान्तलाई मान्ने हो भने मानिसका मुखमा क्यानन(कुकुरे दाँत छन्) तिनको काम लुछ्ने हो । मासु नखाने पशुहरुमा ती छैनन् । मानिसका ती दाँच धारिला र तिखा त छन् तर बाघ र ब्वासाका जस्ता धेरै नै लामा र तिखा पनि छैनन् । त्यसैले मानिसलाई प्रकृतिले कुकुरे दाँतका साथै मासु पकाएर खाने मस्तिष्क पनि दिएको छ ।

युभाल नोह हरारीले आफ्नाे पुस्तक स्यापिएन्स् अ ब्रिफ हिस्ट्री अफ ह्युमन्काइन्ड्मा राज्य, धर्म र पैसाको आविष्कार समाजलाई जोड्नका लागि मानिसले गरेका उत्तम आविष्कार मानेका छन् । समाजमा बलिया मानिसले कमजोरमाथि अत्याचार नगरोस् भन्नका लागि बलिया मानिसलाई नियन्त्रण गर्न पाप र पुण्य तथा सत्कर्म र अधर्मको न्यायनिसाफ गर्ने कुनै अर्को शक्तिको कल्पना गरियो । त्यसबाट धर्म र भगवानको जन्म भयो । आज त्यही धर्म समाज विभाजन, सामाजिक घृणा र तिरस्कारको स्रोत बन्न पुगेको छ । यसलाई त्यसो हुन नदिन साग खान मन नलाग्नेले नखाँदा हुन्छ, फर्सी खान मन नलाग्नेले फर्सी नखाँदा हुन्छ, मासु खान मन नलाग्नेले मासु नखाए हुन्छ तर प्राकृतिक भोजन कसैले खान्छ वा आप्mनो आस्थाको भगवानलाई चढाउँछ भने त्यसलाई छिछि गर्ने कुरा झनै अमानवीय हो । नेपाली लोकपरम्परामा जुनसुकै समुदायमा पनि कुनै न कुनै रुपमा बलीप्रथा थियो छ । आज शाकाहारी बन्ने र बलीप्रथाको विरोध गर्ने कुरा भारतीय कट्टर हिन्दूवादी सम्प्रदायको कुनै एक शाखाको मत आयात भएको मात्र हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।