दशैंमा पहिलो पटक बत्ती बलेपछि..

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १ सय ३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।
नेपालीहरुको महान् पर्व बडादशैंको आठौं दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षौंदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाही बताउनुहुन्छ ।
शनिबार घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले उक्त गाउँमा बत्ती बालेर विद्युतीकरणको उद्घाटन गर्नुभएको हो ।
गत हप्तामात्रै घिरिङ–४ को गलकोट र घिरिङ–५ को भाटडाँडाका ४५ घरधुरीमा बिजुली विस्तार भएको थियो । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका अब करिब ५ सय घरमा मात्रै विद्युतीकरण गर्न बाँकी छ । बाँकी रहेका घरहरुमा तिहारअगावै बत्ती बाल्ने तयारी छ ।