Logo मंसिर ९, २०७७ मंगलबार


दशैंमा पनि कामकै चटारो, साइतको टीका लगाउनै पाउँदैनन्

काठमाडौं । जाजरकोट नलगाड नगरपालिका हल्चौरका गणेश खत्रीले दशैंको टीका साँझपख लगाउन थालेको वर्षौँ भयो । कामको चटारोले गर्दा नै उनी साइतको टीका लगाउन पाउँदैनन् ।

‘मैले ७३ वर्षको हुँदा पनि अहिलेसम्म साइतमा पारेर दशैंको टीका लगाउन पाएको छैन,’ उनी भन्छन्, ‘कामको चटारोले गर्दा साइतको मतलबै हुँदैन।’ गाईभैँसी, खेतीपाती नगरी दुई छाक जुटाउन गाह्रो पर्ने हुँदा टीका र जमरा लगाएर घाँसदाउरा जानुभन्दा बरु काम सकेर ढुक्कसँग साँझमा लगाउने गरेको उनी बताउँछन् ।

दशैंका बेला पनि उनीजस्ता सर्वसाधारण किसानको दैनिकीमा खासै फरक पर्दैन। प्रायः दशैंको समयमा धान भित्र्याउन तथा गहुँ र जौ छर्न भ्याइनभ्याइ हुने जाजरकोट, रुकुम पश्चिम, सल्यान र दैलेखका किसान बताउँछन्। उनीहरू भन्छन्, ‘एउटै घरका परिवार पनि पशुचौपाय पाल्न अलगअलग ठाउँमा बस्नु पर्ने बाध्यताले दिनमा भेला भएर टीका लगाउने अवसर नै जुट्दैन।’

साइतका बेला मूल ढोकामा टीका
घरको सम्पूर्ण काम सकेपछि सधैँ साँझतिर भेला भएर मानिसहरू दशैंको टीका लगाउँछन्। टीकाको साइतमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुन नसक्ने भएकाले घरको मूल ढोकामा टीका र जमरा लगाएर साइत छोप्ने अनि साँझतिर टीका लगाउने गरिएको रुकुम पश्चिमकी रेश्मा विक बताउँछिन्।

‘साइत छोपिसकेपछि साँझतिर आफन्तहरू भेला भएर टीका लगाउने, नाचगान गर्ने, खानपिन गर्ने गरेर रमाइलोसँग दशैं मनाउँछौँ,’ उनले भनिन्। दशैंको टीका सधैँ साँझतिर लगाउँदै आएको बताउने उनी दिनमा टीका लगाएर कामकाजमा निस्किएर अलग हुनुभन्दा साँझतिर जम्मा भएर लगाउँदा रामाइलो हुने बताउँछिन् । अहिले बिजुलीबत्ती, सोलारको उज्यालोमा टीका लगाउने गरे पनि पहिलेपहिले सल्लीको दियालोको भर पर्नुपर्ने अवस्था थियो।

दशैंमा पनि कामकै चटारो
दिनभरि काममा व्यस्त रहने र साँझ फुर्सद निकालेर दशैंको टीका लगाउने चलन गाउँघरतिर धेरै पहिलादेखि चलिरहेको बुझिन्छ। ‘कामले गर्दा वर्षमा एक दिन पनि आनन्दसँग दशैं मनाएको पाइँदैन,’ शिक्षक चन्द्रबहादुर रावलले भने, ‘कामको चटारोले गाउँतिर दशैं नै खल्लो हुन्छ।’ छरपस्ट बसाइले गर्दा ठूलो परिवारका सदस्यहरू एकै ठाउँ भेला भएर टीकाटालो गर्दा रातभरि लाग्ने उनी बताउँछन्।

गाउँमा कतिले भने साइत पारेरै दशैंको टीका लगाउँछन् । तर बानी नै परिसकेको हुनाले घरछिमेकीले लगाएको देख्दा पनि नरमाइलो अनुभूति नहुने साँझपख टीका लगाउने मानिसहरू बताउँछन् । दशैंको बेला पनि कामको चटारोले नछोड्ने भएकाले साँझतिर नै टीका लगाउँदा अप्ठ्यारो महसुस हुँदैन । कतिले भने फुर्सद भएर पनि कुलदेवताको पूजा गरेर साँझतिर मात्रै टीका लगाउँछन्।

बाउबाजेकै चलनको निरन्तरता
कुलदेवता र पितृको नाममा घरको मूलढोकामा टीकाजमरा लगाएर साइत छोपिसकेपछि आफूलाई अनुकूल पर्नेगरी टीका लगाउन सकिने रुकुम पश्चिमकी रेश्मा विक बताउँछिन्। उनी भन्छिन्, ‘बाउबाजेकै पालादेखि चल्दै आएको चलनलाई हामीले पनि छोड्न सकेका छैनौँ।’ टाढाबाट आउने आफन्तलाई अनिवार्य रूपमा पर्खिनुपर्ने बाध्यताले गर्दा कतिले भने साइतको टीका छुट्ने गरेको बताउँछन्।

कामको बोझले गर्दा सुखसँग चाडपर्व पनि मनाउन नपाउने अवस्थामा कर्णालीका किसानहरू रहेको वास्तविकता यसबाट झल्किन्छ । साँझबिहानको छाक जुटाउनकै लागि आफ्नो खुसी र आनन्दलाई पनि थाती राखेर दिनभरि काममा जोतिनुपर्ने बाध्यतामा उनीहरू छन् ।

दोहोरो टीका
बडादशैंको टीका ठूलाबडाको हातबाट लगाएर आर्शीवाद लिनुपर्ने भए पनि कर्णालीका गाउँघरतिर भने दोहोरो टीका लगाउने चलन छ। सानोदेखि ठूलोसम्म सबैले दशैंको दोहोरो टीका र जमरा लगाइदिन्छन्। दोहोरो टीका लगाउँदा धेरै समय लागे पनि आत्मीयता भने बढ्ने उनीहरूको भनाइ छ। सहर बजारतिर टीकाको साइतलाई महत्त्व दिने गरिए पनि गाउँघरतिर भने त्यसलाई खासै महत्त्व दिइँदैन । दशैंको दिन कतिपयले भने साइतको ख्यालै नगरी बिहानैदेखि टीका लगाउन शुरु गर्छन्। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।