‘रअ प्रमुखसँगकाे भेट कुटनीतिक आचारसंहिता विपरीत’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भारतीय गुप्तचर संस्था रअका प्रमुख शान्तकुमार गाेयलसँगकाे भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भारतीय गुप्तचरसँगको भेटमाथि प्रश्न उठाउनुभएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरसँगको भेटबाट राष्ट्रिय स्वाभिमान , प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम भएकाे उल्लेख गर्नुभएको छ। देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारीक वार्ता गरेको यो इतिहासकै पहिलो घटना भएको समते उहाँकाे दाबी छ ।
प्रधानमन्त्रीको भेटका बारेमा पार्टीमा कुनै पनि पूर्व जानकारी नभएको र भेटपछि पनि छलफल नभएको नेता श्रेष्ठले जानकारी दिनुभयो । ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको भए कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन’ प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ?’
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले यस किसिमको भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम भएको प्रष्ट पार्नुभएकाे छ ।