विजया दशमी : टीकाकाे उत्तम साइत १० : १९ बजे

काठमाडाैं । दुर्गापक्षको मुख्य दिन भाेलि बडा दशैँ घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने बडा दशैँ पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, अध्यक्ष गौतमले भन्नुभयो ।