काेराेना महामारीपछि एक लाख २२ हजार नेपाली स्वदेश फर्किए

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणपछि एक लाख २२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत् स्वदेश फर्किएका हुन् ।
कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन सहयाेग गरिरहेकाे छ । अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडी देश पुगेकाहरु रहेकाे सरकारी तथ्यांक छ ।
विजया दशमीकाे दिन मात्रै कतारबाट ३ सय ७४ जना, यूएईबाट १ सय ३४ जना र साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् । तथ्याङ्क अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।