Logo फाल्गुन १५, २०७७ शनिबार


चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।

वर्षभर कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पूरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

‘पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’ अर्थशास्त्री डा लाभले भन्नुभयो । व्यवसायीहरुका अनुसार दशैंमा करिब १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीको भनाइ छ ।

जनकपुरमा मात्र हरेक वर्ष दशैंंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उहाँहरुका अनुसार दशैंंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करिब पाँच लाख कर्मचारीका लागि चार अर्बभन्दा बढी रकम दशैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दशैंताका करिब १०/१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।

अर्थविद्हरुका अनुसार दशैं अघिका दुई/तीन साताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैंदेखि छठ पर्वसम्म बजारमा करिब पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दशैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको उद्योग वाणिज्य सघं प्रदेश नं २ का अध्यक्ष शिवशंकर साहको भनाइ छ । उहाँका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।

यतिखेर प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दशैंंको निकै चहलपहल बढेको छ । दशैंको टीका चलिरहेको र दिपावली नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ । चाडपर्वका लागि मानिसहरुले खाद्यान्नदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन् । जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।

गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दशैंमा व्यापारसमेत बढ्ने गर्छ । कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दशैं अघिको दुई/तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ । व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दशैं, तिहार, छठजस्ता महान चाडपर्व नै हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।