चाडपर्वमा डिजिटल दक्षिणा र काराेबार गराैं : नेपाल बैंकर्स संघ

रूपा घिमिरे
नेपाल बैंकर्स संघले कोरोना जोखिम बढ्दै गएकाले चाडपर्वका समयमा डिजिटल दक्षिणा र डिजिटल बैंकिङ कारोबारमा जोड दिन सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि संघले डिजिटल कारोबारमा प्रोत्साहन गरेको हो ।
नेपाल बैंकर्स संघले कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको र जोखिम न्यूनीकरणका लागि भन्दै चाडपर्व लगायत अन्य सबै समयमा डिजिटल दक्षिणा र कारोबारमा जोड दिन सर्वसाधारणलाई आग्रह गरेको छ । संघले बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएका कारण ग्राहकको भौतिक उपस्थितिले बैंकमा थप जोखिम नबढाउनतर्फ आग्रह गरेको हो । कोरोना जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न संघले अनुरोध गरेकाे छ ।
कोरोनाका कारण यसवर्ष दशैंलाई लक्षित गरेर बैंकहरुले डिजिटल दक्षिणा भुक्तानीलाई प्रोत्साहन गर्दै विभिन्न अफर तथा योजनाहरु समेत बजारमा ल्याएका थिए । सेवा प्रदायकहरुले क्यास ब्याक अफर, अनलाइन सपिङ गर्दा छुट अफर, बोनस अफर लगायतका योजनाहरु अघि सारेका हुन् । नेपाल राष्ट्र बैंकले डिजिटल पेमेन्टका सेवा प्रदायकहरु प्रभु पे, ई सेवा, आइएमई पे, खल्ती डट्कम लगायतसँग सहकार्य गर्दै बजार विस्तारका लागि सहजीकरण गरेको हो ।
संघले डिजिटल प्रणालीको प्रवर्द्धन गर्दै नोटको कारोबारलाई विस्थापित गर्ने रणनीति अपनाउनुपर्ने बताएकाे छ । जसअनुरुप अहिले बैंकहरुले चेक प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर खाताबाट रकम झिक्न, भुक्तानी गर्न, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिने, डिजिटल सहायता केन्द्र लगायतको व्यवस्था गरेको छ ।