नेकपा नेता बीरबहादुर ठगुन्नाको निधन

दार्चुला । नेकपा दार्चुलाका संस्थापक नेता बीरबहादुर ठगुन्नाको निधन भएको छ । बि सं २००८ सालमा दार्चुलाको नौगाड गाउँपालिकामा जन्मेका नेता ठगुन्नाको उपचारका क्रममा ६९ वर्षको उमेरमा काठमाण्डौँमा निधन भएको हो।
महादेव मावि अठपाली बझाङका संस्थापक प्रधानाध्यापक वीरबहादुर ठगुन्ना तत्कालिन नेकपा एमाले दार्चुलाको स्थापना कालदेखि नै सक्रिय राजनीतिमा होमिनुभएको थियो । २०४८ सालमा दार्चुलाको चौलानी निर्वाचन क्षेत्रबाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका नेता ठगुन्ना राप्रपा नेता अगवरबहादुर सिहसँग पराजित हुनुभएको थियो ।
उहाँले २०५४ सालमा जिल्ला विकास समिति दार्चुलाको उपसभापति भएर दुई वर्ष काम गर्नुभएको थियो । २०५६ सालमा जिबिस उपसभापति पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्नुभएका नेता ठगुन्ना नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूसँग पराजित हुनुभएको थियो । उहाँ केपी ओली पहिलो पटक प्रधानमन्त्री हुदा २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बन्नुभएको थियो । उहाँ विगत ४० महिनादेखि क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो ।
पटकपटक तत्कालिन नेकपा एमालेको जिल्ला सचिव लगायत विभिन्न जिम्मेवारी सम्हालेका नेता ठगुन्ना नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य समेत हुनुभएको थियो । घाँटीमा क्यान्सर भएपछि डेढ वर्षदेखि काठमाण्डौँमा उपचाररत उहाँको उपचारकै क्रममा बुधबार निधन भएको नेकपा दार्चुलाका नेता एवम् नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।