अष्ट्रेलियामा बस्ने नेपालीबाट सियोनाको उपचारमा सहयोग

काठमाडौं । स्पाइनल मस्कुलर एट्रोफी (एसएमई –१) नामक वंशाणुगत रोगबाट पीडित बालिकाको उपचारका लागि अष्ट्रेलियामा रहेका नेपालीले सहयोग गरेका छन् । बिरलै देखिने यो जन्मजात रोगबाट पीडित नवलपरासी जिल्ला रामग्राम–२ कि १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लाग अष्ट्रेलियामा रहेका नेपालीको समूह ‘अफरिङ ह्याप्पीनेस’ ले एक लाख २४ हजार रुपैयाँ सहयोग गरेको हो ।
स्पाइनल मस्कुलर एट्रोफी रोग एउटा यस्तो रोग हो, जुन जेनेटिक डिसअर्डरका कारण हुन्छ । यो रोग लागेपछि जुन जुन स्थानमा मासु रहेको हुन्छ, त्यो बिस्तारै सुक्दै जान्छ र कालान्तरमा मृत्यु हुन्छ । यद्यपि एकाध घटनामा भने उपचारपछि निको समेत भएको पाइन्छ । यो रोग चार प्रकारको हुन्छ । टाइप १ देखि टाइप ४ सम्मको डिसअर्डर यस रोगमा देखिन्छ ।
सुयोनाका बुवा डा.सन्दीप श्रेष्ठका अनुसार उनलाई टाइप १ रोग देखिएको हो, जुन अन्य रोगभन्दा बढी खतरनाक हुन्छ । चिकित्सकका अनुसार यो रोगबाट पीडित धेरैजसो बालबालिकाको उपचार अभावका कारण दुई वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । केही देशहरुमा यस रोगको उपचार ट्रायलका रुपमा भइरहेको छ । यद्यपि औषधी वा उपचार यही नै हो भन्ने एकिन भने छैन ।
पोल्याण्ड, अमेरिका, क्यानडा लगायतका देशमा यस रोगको उपचारका लागि ट्रायल भइरहेको छ । सियोनाका बुवा डा.श्रेष्ठका अनुसार उनलाई अहिले उपाचारका लागि पोल्याण्डमा लगिएको छ । तर आर्थिक अभावमा उनको उपचार शुरु हुन सकेका छैन । सियोनाको उपचारका लागि करिब २० करोड रुपैयाँ लाग्ने बताइएको छ ।
खर्च अभावका कारण उपचार हुन नसकेको भन्दै सियोनाका बुवा डा. श्रेष्ठले विश्वभरका नेपालीलाई सहयोगका लागि आग्रह गरेका छन् । अस्ट्रेलियामा आर्थिक सहयोग संकलनमा संजय दनै, प्रशन्ना कार्की, सुरेन्द्र न्यौपाने, सुदर्शन रायमाझी र अश्मीता क्षेत्रीलगायतले सहजीकरण गरेका थिए । अष्ट्रेलियामा रहेका नेपालीको समूह अफरिङ ह्याप्पीनेसका तर्फबाट प्रेमप्रकाश शाहीको नेतृत्वमा फेसबुकमार्फत सहयोगको अपिल गरिएको थियो । सो समूहले नेपालबाट १५ हजार ४ सय ५ र अष्ट्रेलियाबाट १ हजार ३ सय १ अस्ट्रेलियन डलर गरी १ लाख २४ हजार रुपैयाँ सहयोग संकलन गरी सियोनाका बुवाको खातामा पठाएको समूहका सदस्य शिशिर ढुङ्गानाले बताए ।