शुक्रबारदेखि एक हप्ताका लागि कुश्मा बजार बन्द

राजन पौडेल
पर्वत । कुश्मा बजारमा शुक्रबार रातिदेखि एक हप्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
डिसिसिएमसीले कात्तिक १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गतेसम्म कुश्मा नगरपालिकाको ४, ५, ६ र ७ वडा कार्यलय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पूर्ण बैंक तथा वित्तिय संस्था र अति अवश्यक बाहेकका सम्पूर्ण पसलहरु पनि बन्द गराउने निर्णय गरेको छ ।
नगरपालिका र वडा कार्यालयबाट दिने सेवा बन्द गरेपछि सरकारी कार्यालयमा पनि भीड कम हुनेछ । अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएका कारण भीडभाड कम हुँदा संक्रमण फैलन कम हुने विश्वास लिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो। पर्वतको कुश्मा बजारमा दशैं अगाडि देखि समुदायमा कोरोना संक्रमण फैलिएको छ भने एक हप्ताको अवधिमा दुई जनाको मृत्यु भइसकेको छ ।