Logo मंसिर ११, २०७७ बिहीबार


नेपाली संस्कृतिमा टीका

प्राडा सोमप्रसाद खतिवडा

टीका सौन्दर्यको चिन्ह, सृंगार या अलङ्करणको माध्यम तथा शक्ति, सामथ्र्य, प्रगति, उन्नति, आस्था, विश्बास, विजय, शुभकामना,सम्मान, ममता, स्नेह, स्वागत, विदाई र संस्कारको प्रतीक मानिन्छ । टीकामा सुन्दरता बढाउने गुणका साथै सामाजिक, धार्मिक र सांस्कृतिकमहत्व समेत रहेको हुन्छ । टीकालाई चन्दन, तिलक, थोप्ला र दागजस्ता शब्दहरूले अथ्र्याउने चलन छ (शर्मा, २०५७ः ५६०) । निधारमा
लगाउने गहना र साम्प्रदायिक चिन्हका रूपमा रहेको टीका माटो, अत्तर, सिसा, प्लास्टिक र विभिन्न प्रकारका रङहरू तथा श्रीखण्डबाटबनाइन्छ (मोनियर, १९९३ः ४४८) ।

टीकालाई तिलक पनि भनिन्छ । विश्वका प्राय सबै समुदायका मानिसहरूले सृंगारको साधनका रूपमा टीका लगाउने भएपनि हिन्दू संस्कृतिमा भने यसको बेग्लै र विशेष धार्मिक महत्व रहेको छ । नेपाली संस्कृतिमा टीका बीच निधारमा मात्र नभएर शरीरकोमाथिल्लो भागका अन्य अंगहरूमा समेत लगाउने चलन पाइन्छ । वैष्णव सम्प्रदायीहरूले नाडी र छातीका विभिन्न भागहरूमा समेत टीका लगाउँछन् भने कसैकसैले दुवै कान, देब्रे कन्चट र टाउकाका अन्य भागमा पनि टीका लगाउने गरेको पाइन्छ । विशेष गरी बैष्णवहरूलेशरीरका विभिन्न बाह« स्थानमा तिलक या टीका लगाउने गर्दछन् । तिनीहरू विष्णुका विभिन्न बाह«वटा नामहरू उच्चारण गरी लगाइन्छन् (गोयन्दका, १९५९ः ५६४) ।

वैष्णवहरूका टीका विष्णुको मन्दिर र विष्णुपादुकाका प्रतीकका रूपमा ग्रहण गर्ने गरिएका हुन् । अन्य सम्प्रदायी र स्मार्तहरूले पनि निधारमा टीका लगाउने गर्दछन् । तर उनीहरूमा निधार बाहेकका शरीरका अन्य भागमा भने टीका लगाउने चलन छैन ।

तिलक या टीकालाई धार्मिक रूपमा तेस्रो आँखा भनिन्छ, जुन दिमागी आँखा, देवताको प्रतीक, साधनाको माध्यम र आध्यात्मिक चेतना मानिएको छ । प्रारम्भमा टीका देवताले मात्र लगाउँछन् भन्ने धरणा थियो, जसले गर्दा टीकाधारी देव प्रतिमा बनाउने गरिन्थ्यो । कालान्तरमा देवताका निकटमा रहने मानिएका व्यक्तिहरू जस्तो पुजारी, ऋषिमुनि तथा सन्यासीले पनि यसको प्रयोग गरे । आफूलाई देवता निकट रहेको मान्यता राख्तै यिनीहरूले टीका धारण गर्न लागेका हुन् । अझ पछि भने प्राय सबै हिन्दूहरूले देवताको प्रसादका रूपमा टीका ग्रहण गर्न लागेको पाइन्छ । हाल विभिन्न देवी देवताका भक्त, उपाशक, सम्प्रदायी, स्मार्त, सनातनी र सामान्य मानिसहरूले समेत निधारमा टीका लगाउने गर्दछन् ।

विवाहिता महिलाका लागि नेपाली समाजमा सिन्दुर र टीका शौभाग्यको अनिवार्य प्रतिक मानिन्छन् । यता सिन्दुरचाहिं विवाहिता सदवा महिलाको परिचायक हो । नेपाली समाजमा प्राय सबै प्रकारका पर्व र उत्सव तथा संस्कारहरूका अवसरमा टीका लगाउने चलन व्यापक छ, जुन परम्परा निकै पुरानो हो । टीका ग्रहण गर्ने विभिन्न अवसरहरूमध्ये दशैं र तिहारको टीकाको परम्परा निकै पुरानो छ । यी दुवै पर्व नेपालमा प्राचीन कालदेखि नै मनाउन लागिएको र यिनीहरू टीका ग्रहणसँग नै सम्बन्धित रहेकाले यी पर्वको शुरूवातका साथसाथै टीका ग्रहण गर्ने परम्पराको पनि उदय भएको मान्न सकिन्छ । यिनीहरूमध्ये दशैंको टीका आश्विन शुक्लदशमी तिथिका दिनदेखि पूर्णिमासम्म लगाइन्छ । यसैगरी तिहारको टीका भने कार्तिक शुक्ल द्वितीयका दिन लगाउने चलन छ ।

दशैंका अवसरमा लगाइने टीका चामल, दही र अबिरबाट बनाइन्छ । यता तिहारको भाइटीकाका अवसरमा लगाइने टीका भने अबिर, केशरी र अन्य विविध प्रकारका रङहरूबाट बनाउने चलन छ । विदाई, स्वागत, शुभकार्य र धार्मिक उत्सवमा अबिर र चामल मिश्रित रातो टीका लगाइन्छ भने आसोच र पितृकार्यका अवसरमा सेतो र पहेंलो टीका लगाउने परम्परा छ । वास्तवमा टीका नेपाली संस्कृतिको अभिन्न अंगका रूपमा प्रचलित रहेकाले हुनाले धार्मिक र संस्कारगत त्यस्ता कुनै पनि उत्सवहरू छैनन्, जस अवसरमा टीका नलगाइयोस् । नेपाली समाजमा यस्ता अवसरमा टीका लगाउनुलाई महत्व दिने मात्र नभएर अनिवार्य मानिने हुँदा टीकाको महत्व अतुलनीय रहेको हो ।

नेपाली समाजमा प्रचलित टीका उत्सव विशेष र सम्प्रदाय विशेष विभिन्न प्रकारका हुने गर्दछन् । टीकालाई निम्नानुसारले विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ ।

१) सृंगारिक टीकाः

शरीरलाई सुन्दर बनाउनका लागि लगाइने टीका या तिलकलाई सृंगारिक टीका भनिन्छ । यसमा सृंगारणलाई ज्यादा महत्व दिइने भए पनि धार्मिक विधिविधान पूरा गरेर तथा उत्सवको आयोजना गरेरमात्र यस्तो टीका ग्रहण गरिने हुनाले अलंकरणका साथमा यिनीहरूको धार्मिक महत्व पनि रहने गर्दछ । नेपाली समाजमा प्रचलित प्रमुख सृंगारिक टीका निम्न छन् ः

क) राजतिलक (टीका) :

राजकाज गर्ने जिम्मेवारी दिन लगाईदिने टीकालाई राजतिलक भनिन्छ । विशेषगरी राजकुमारहरूको राज्याभिशेकका अवसरमा यस्तो टीका ग्रहण गराउने चलन छ ।

ख) सुहागन टीकाः

विवाहिता महिलाले आपूm विवाहित भएको प्रतिक स्वरूप लगाउने सिन्दुर आदि सुहागन टीका हुन् । विशेषगरी सिन्दुरलाई नै सुहागन टीकाका रूपमा लिने गरिन्छ ।

ग) बिन्दीः

बिन्दी त्यस्तो आभूषण हो, जुन विशेष गरी महिलाहरूले सुन्दरताका लागि निधारमा लगाउने गर्दछन् । साना, गोला तथा आफैं टाँसिने स्टिकरयुक्त बिन्दीलाई पनि नेपाली भाषामा टीकानै भनिन्छ । यिनीहरू शरीरको सुन्दरता बढाउनका लागि बीच निधारमा लगाउने हुँदा यिनीहरूको आलंकारिक महत्व रहेको हुन्छ ।

घ) विजय तिलकः

विजय प्राप्त गर्दा र सफल हुँदा लगाउने टीका विजय तिलक हो, जसमा टीकाका रूपमा विशेष गरी अबिर लगायत रातो रङको प्रयोग गरिन्छ । युद्धमा विजय गर्दा तथा आपूmले गरेको काममा सफलता पाउँदा यस्तो टीका लगाउने चलन छ । यता विजय प्राप्त गर्नका लागि हिँड्ने अवसरमा पनि यस्तो टीका लागउने गरिन्छ । विजयटीका लगाउँदा समेत देवीदेवताका मन्त्रहरू उच्चारण गरिने र तिनीहरूले विजय गर्न मद्धत गरून् तथा प्राप्त भएको विजयले स्थायित्व पाओस् भन्ने कामना गरिन्छ ।

ङ) स्वागत तथा विदाई टीकाः

आपूm बसेको ठाउँ छाडी अन्यत्रै गएका महत्वपूर्ण व्यक्तिहरू पुन आप्mनो गाउँघर र देशमा फिर्दा स्वागत टीका लगाइन्छ । पाहुना या अतिथीको आगमनमा स्वागत गर्नका लागि पनि यस्तो टीका लगाईदिने चलन नेपाली समाजमा चलिआएको छ । यसमा रातो अबिर या रङको प्रयोग गरिन्छ । यात्रीलाई सफल यात्राको कामना गर्दै यस्तो टीका लगाई दिने चलन हरेकाले यसको धार्मिक महत्व पनि रहेको हुन्छ ।

च) उत्सव टीकाः

नेपाली समाजमा विभिन्न सामाजिक उत्सवहरू मनाउँदा समेत एक आपसमा टीका लगाईदिने चलन छ । यस्तो टीका उत्सवअनुसार विभिन्न प्रकारको हुन्छ ।

२) धार्मिक टीकाः

धार्मिक टीका त्यो हो, जसको महत्व सृंगारिकभन्दा पनि ज्यादा पुण्य प्राप्तिसँग निकट हुन्छ । यस्तो टीकालाई पनि निम्नानुसार विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ ।

क) संस्कारगत टीकाः

नेपाली समाजमा विभिन्न संस्कारहरू सम्पन्न गर्दा अनेक प्रकरका टीकाहरू लगाइन्छन् । तिनीहरू संस्कारअनुसार विभिन्न रङ र प्रकृतिका हुन्छन् । विशेषगरी संस्कारगत टीकामा रातो रङको प्रधानता रहन्छ । खुशीयाली र मनोरञ्जनसँग
सम्बन्धित संस्कारका टीकामा रातो रङको बाहुल्य रहन्छ भने मृत्युजस्तो विस्मयवादी संस्कारमा सेतो र पहेंलो रङयुक्त टीका प्रयोग गरिन्छ ।

ख) पर्व टीकाः

पर्वका अवसरमा लगाइने टीकालाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । यसमा रातो रङको प्रधानता रहन्छ, जसमा चामलमा रातो रङ मुछेर टीका बनाईन्छ । साथै चामल र चरू आदिको होम गरी यज्ञमा डढेका चामलको तिलक बनाई कालो रङको तिलक लगाउने चलन पनि उत्सवअनुसार प्रचलित छ ।

ग) साम्प्रदायिक टीकाः

साम्प्रदायिक टीका अलगअलग बस्तुबाट बनेका तथा सम्प्रदायअनुसार अलगअलग आकरका हुन्छन् । नेपाली समाजमा प्रचलित त्यस्ता प्रमुख साम्प्रदायिक टीकाहरू निम्नानुसार छन् ।

शैव टीकाः

शैव टीका विभूत (खरानी) बाट बनाइन्छ । शैवहरूले निधारमा विभूतको तेर्सो पुण्ड्र टीका लगाउँछन् । यसलाई त्रिपुण्ड्र टीका भनिन्छ । त्रिपुण्ड्र टीकामा तेर्सो टीकाको बीचमा पारेर चन्दन र कुमकुमको रातो रङको थोप्ला लगाउने चलन छ । सामान्यतया शिवलिंगको बीचमा रहने ब्रह्मसूत्रको प्रतिक स्वरूप शैवहरूले यस्तो टीका लगाउने गरेका हुन् ।

वैष्णव टीकाः

वैष्णवहरूमा उध्र्वपुण्ड्र टीका लगाउने चलन छ (भण्डारकर, १९८९ः ८६) । निधारको बीच भागमा लगाईने अंग्रेजीको यू आकारको टीकालाई उध्र्वपुण्ड्र टीका भनिन्छ । उध्र्वपुण्ड्रटीका मथुराको कमेरे माटोको बनाइन्छ । यसमा यदाकदा चन्दन पनि मिसाउने चलन छ । वैष्णवहरूमा सम्प्रदाय विशेष उध्र्वपुण्ड्र टीकाको स्वरूप र पुण्ड्रका बीचमा लगाइने थोप्लाको रङ र स्वरूप भने केही फरक पनि हुने गर्दछ । सम्प्रदायीले गुरूबाट मन्त्र लिएपश्चात् मात्र टीका लगाउनु पर्दछ भन्ने मान्यता राखिन्छ । वैष्णवहरूले लगाउने टीकामा स्मार्तको भन्दा फरकपन यो रहेको छ कि उनीहरू प्रत्येक दिन मन्त्र उच्चारणका साथ टीका लगाउने गर्दछन् । उनीहरूमा माथि प्रसंगवस उल्लेख गरिएअनुसारका मन्त्रहरू उच्चारण गर्दै शरीरका बाह« स्थानमा विष्णुका बाह« स्वरूपका प्रतिकका रूपमा टीका लगाउने परम्परा छ । वैष्णवहरू सामान्यतया सीत टीका लगाउने गर्दछन् । सीत टीकाको मतलब पानीमा तिलक मिसाएर बनेको टीका भन्ने हुन्छ ।

वैष्णव धर्मका श्रीवैष्णव र मध्वसम्प्रदायका अनुयायीहरूमा भने विष्णुका चिन्ह (पद, पद्म र चक्र आदि) शरीरको माथ्लो भागमा तप्त गर्ने चलन छ । विभिन्न वैष्णव सम्प्रदायी तथा तिनका टीकाका प्रकारहरू निम्नानुसार छन् ।

श्रीवैष्णव टीकाः

श्रीवैष्णवहरूले निधारमा लगाउने टीकालाई तिरूमन र श्रीचरणम् भन्दछन् । तिरूमन उध्र्वपुण्ड्र सेतो टीका हो, जुन गोपीचन्दन (मथुराको सेतो माटो) बाट बन्दछ । यदाकदा चन्दनबाट पनि यस्तो टीका बनाइन्छ । यसलाई विष्णुपादुका र कमलपुष्पको प्रतीक मानिन्छ । उनीहरू उध्र्वपुण्ड्रका बीचमा माथितिर सानो हुँदै गएको रातो ठाडो टीका लगाउँछन्, जसमा रातो टीका भने अबिर र हरिद्वारको रातो माटाले पनि बन्न सक्तछ । यसलाई श्री या लक्ष्मीको प्रतीक मानिन्छ । श्रीवैष्णवमा पनि बड्गलै र टेंकलै दुई अलगअलग शाखाका टीकाका स्वरूपमा सामान्य विभेद रहेको पाइन्छ । उनीहरूको बड्गलै शाखाको तिरूमन अंग्रेजीको यू आकारको र टेंकलैको भने वाई आकारको हुने गर्दछ ।

निम्बार्की टीकाः

निम्बार्क सम्प्रदायका अनुयायीहरूले लगाउने टीका पनि उध्र्वपुण्ड्र टीकानै हो । उध्र्वपुण्ड्र टीका अंग्रेजीको यू आकारको हुन्छ, जुन नाकको डाँडीदेखि उँभोतिर फर्काएर निधारको माथ्लो भागसम्म दुईवटा धर्कायुक्त आकृतिमा लगाउने चलन छ । त्यस्तो आकृति मथुराको गोपीकुण्डमा पाइने कमेरे सेतो माटोबाट बनाइन्छ । वैष्णवहरू यसलाई गोपिचन्दन भन्दछन् । गोपिचन्दनको महिमागान गर्गसंहितामा विस्तृत रूपमा गरिएको छ । उक्त ग्रन्थमा गोपिभूमिको नाममात्र सुन्दा पनि सम्पूर्ण कर्म बन्धनबाट छुट्कारा पाइने बताइएको पाइन्छ । तसर्थ कृष्णको भक्तिमा आधारित निम्बार्क सम्प्रदायमा गोपिचन्दनलाई ठूलो महत्व दिने गरिएको हो । निम्बार्कीहरूले उध्र्वपुण्ड्र टीकाको बीचमा लगाउने सेतो थोप्ला पनि गोपिचन्दनबाट नै बनाइन्छ । एउटा गुरू परम्पराका निम्बार्कीहरू भने उत्तर प्रदेशको वर्षना भन्ने स्थानमा पाइने कालो माटोलाई पनि त्यस्तो थोप्लाका रूपमा प्रयोग गर्ने गर्दछन् । उनीहरू वर्षनालाई कृष्णकी प्रियसी गोपीको जन्मथलो मान्दछन् । निम्बार्कीहरू निधारका साथमा शरीरका विभिन्न बाह« स्थानमा समेत गोपिचन्दनको टीका लगाउने गर्दछन् ।

रामानन्दी टीकाः

रामानन्दीहरूले निधारका बीचमा उध्र्वपुण्ड्र गोपिचन्दन तथा त्यसको बीचमा ठाडो र मोटो रातोे टीका लगाउने गर्दछन् । उनीहरूले लगाउने गोपिचन्दन तथा सेतो टीका चन्दनबाट पनि बन्दछ । यहाँ सेतो टीका रामको मन्दिर र रातो त्यसमा रहेकी शक्तिको प्रतिक मानिन्छ । श्रीवैष्णवहरूको भन्दा रामानन्दीको टीका यस अर्थमा फरक छ कि उनीहरूले लगाउने ठाडो र रातो चिन्ह श्रीवैष्णवको भन्दा मोटो हुन्छ । रामानन्दीको रातो टीका भने अबिर लगायतका अन्य रातो पदार्थबाट बनेको हुन्छ । रामानन्दी सम्प्रदाय पनि आचारी, वैरागी, खाकी र सन्यासी गरी जम्मा चार भागमा विभक्त छन् । तसर्थ उनीहरूमा पनि उपसम्प्रदायअनुसार टीकाको स्वरूपमा पनि सामान्य विभेद रहेको पाइन्छ ।

मध्वसम्प्रदायी टीकाः

मध्व सम्प्रदायका अनुयायीले उध्र्वपुण्ड्र गोपिचन्दन र त्यसको बीचमा ठाडो कालो टीका लगाउँछन् । उक्त कालो टीका भने दैनिक यज्ञको अंगारबाट बनाइन्छ ।

वल्लभ सम्प्रदायः

वल्लभ सम्प्रदायका अनुयायीले रातो र ठाडो (मोटो) टीका लगाउँछन् । यसलाई यमुनाको प्रतिक मानिन्छ ।

स्वामीनारायण सम्प्रदायः

स्वामीनारायण सम्प्रदायका अनुयायीहरूले उध्र्वपुण्ड्र गोपिचन्दनका बीचमा रातो विन्दु लगाउँछन् ।

गाणपत्य सम्प्रदायः

यस सम्प्रदायका अनुयायीहरूले रक्तचन्दनको टीका लगाउँछन् ।

शाक्त सम्प्रदायः

शाक्तहरूले रातो रङको कुमकुमको टीका लगाउँछन् ।

घ) स्मार्त टीकाः

स्मार्तहरू स्मृत्तिलाई अनुशरण गर्दछन् । विभिन्न प्रकारका स्मृतिहरूमा टीकाका बारेमा सामान्य चर्चा गरिएको पाइने भए पनि कसले कस्तो टीका लगाउनु पर्दछ भन्ने कुरा चाहिं स्पष्टसँग व्याख्या गरिएको पाइँदैन । तसर्थ स्मार्तहरूले अ–आप्mना परम्परा र संस्कार बाहेकका उत्सवमा अलगअलग आकारप्रकार र रङका टीकाहरू लगाउने गर्दछन् । स्मृत्तिहरूमा त्रिपुण्ड्र, अर्धचन्द्र र बृत्त गरी जम्मा तीन प्रकारका टीकाको चर्चा पाइन्छ । तिनीहरूमा त्रिपुण्ड्र टीका ब्राह्मणले, अर्धचन्द्रटीका क्षेत्रीयले र वृत्तटीका वैश्यले लगाउने उल्लेख गरिएको छ । हाल आएर स्मार्तहरूले स्मृतिहरूमा चर्चा गरिएअनुसारकै दुरूस्त मिल्नेगरी टीका लगाउने गरेको देखिंदैन । उनीहरूले देवमन्दिरमा पूजा र दर्शन गर्दा तिनमा देवीदेवतालाई चढाइएका रङहरूको सामान्य थोप्ला र ठाडो टीका लागउने गर्दछन्, जसमा स्मृतिहरूमा वर्णन गरिएअनुसारको स्वरूप हुनुपर्ने कुरालाई महत्व दिने गरिंदैन ।

विभिन्न धर्मग्रन्थहरूमा विभिन्न उन्नाइस प्रकारका टीकाहरूको चर्चा गरेका छन् । श्रीतिलकहरू भने वीरतिलक, विजयश्री तिलक, वेन्दीतिलक, चतुर्भुजी तिलक लगायत बाह« प्रकारका श्रीतिलक यस अन्त्यर्गत पर्दछन् । बिन्दी टीकाबाहेक अन्य प्रकारका टीका गंगा या यमुनाको पानीमा भिजाएर हातमा घोट्नु पर्ने विधान छ । यी दुवै नदीको पानी नपाइएमा अन्य स्थानको जल पनि टीका घोट्नका लागि
प्रयोग गर्न सकिने नियम पाइन्छ । यसमा टीका देव्रे हातमा घोटी दाहिने हातका औंलाले लगाउने गरिन्छ । यसरी हिन्दूधर्मका विभिन्न सम्प्रदायहरूमा प्रयोग गरिने टीकाहरू धर्मशास्त्रद्वारा नै निर्दिष्ट छन् र तिनीहरूको आलंकारिक र सृङ्गारिकमात्र नभएर धार्मिक समेत महत्व रहेको पाइन्छ । तसर्थ हिन्दूहरूका लागि टीका ग्रहण गर्नु अति आवश्यक र महत्वपूर्ण कार्यका रूपमा लिइएको छ ।

(प्रस्तुत लेख प्राध्यापक डा खतिवडाद्वारा लिखित नेपाली संस्कृतिकोष पुस्तकबाट साभार गरिएको हो । उक्त पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो )

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…