सरकारलाई कसले असहयोग गरेको छ र ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले वर्तमान सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नभएको बताउनु भएको छ । सरकारलाई कुन चिजमा पार्टीको अवरोध भयो ? भन्ने प्रश्न गर्दै नेता ज्ञवालीले आफूहरु पधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउन लागेको भन्ने आरोप गलत भएको पनि प्रष्ट पार्नुभएको हो ।
प्राइम टाइम टेलभिजनसँगको संवादमा उहाँले नेकपा ठूलो पार्टी भएकोले बहस, विवाद र छलफल धेरै हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । सरकार आफ्नै कारणले आलोचित बनिरहेको संकेत गर्नुहुँदै ज्ञवालीले भन्नुभयो, ‘हामी यो सरकार असफल पार्ने बाटोमा लागेका छौं भन्ने कुरा गलत हो, सरकारलाई कसले असहयोग गरेको छ र ?
पछिल्लो समय सरकारको कार्यशैलीलाई लिएर पार्टीमा विवाद बढिरहेको परिप्रेक्षमा नेता ज्ञवालीकोे यस्तो धारणा सार्वजनिक भएको हो । केही समय अघि नेकपामा देखा परेको विवाद निरुपण गर्न बनाइएको कार्यदलको सुझाव अनुसार सरकार सञ्चालन नभएको र प्रधानमन्त्री केपी शर्मा ओेली एकलौटी रुपमा अघि बढेको भन्दै नेकपामा पुन विवाद चुलिन थालेको छ । स्राेतका अनुसार केही दिन यता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवादसमेत हुन सकिरहेकाे छैन ।