काेराेना संक्रमित सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न पत्रकार महासंघकाे माग

काठमाडाैं । नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणकाे उच्च जोखिमका बीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गर्नुभएको हो ।
महासंघले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्व सतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न सबै पत्रकार अनुरोध गरेको छ । संक्रमणको दर वृद्धिसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको भन्दै पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ भने चारजना पत्रकारको कोभिड–१९ का कारण निधन हुन गएको उहाँले जानकारी दिनुभयो ।
सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारलाई एकातिर कोभिड–१९ को कारण देखाई विभिन्न सञ्चारगृहबाट नियमित पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्नेजस्ता क्रमसमेत बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारमा कोरोना संक्रमण बढिरहेको उल्लेख गर्नुभएको छ । ‘दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोरोना संक्रमित भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ’, विज्ञप्तिमा भनिएको छ ।