पैसा नतिरेसम्म संक्रमितको शव नदिने अस्पतालको अडान

विराटनगर । यहाँको विराट मेडिकल कलेजले कोरोना संक्रमण भई मृत्यु भएका एक पुरुषको शव ३ दिन बितिसक्दा पनि आफन्तलाई लैजान नदिने अडान राखेको छ । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर उपमहानगरपालिका वडानम्बर ३ का ६५ वर्षीय पुरुषको शव अस्पतालले पैसा नतिरेसम्म लैजान नपाइने भन्दै अस्पतालमै राखेको छ ।
मृतकका आफन्तले उपचारको क्रममा उठेको बिल अनुसारको रकम तिर्न नसक्दा अस्पतालले शव नदिएको बताएका छन् । स्थानीय एक बोर्डिङ स्कुलमा सवारी चालकको रुपमा कार्यरत ती पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो । मृतककी छोरीले भएको पैसा सबै सकिएको र अब अस्पताललाई तिर्न पैसा नभएको बताइन् । ऋण खोज्दा नपाइएको तर पैसा नतिरेसम्म अस्पतालले शव दिन्न भनेको उनको भनाइ छ । अस्पतालले ३ लाख ८४ हजार ९ सय ३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको उनको गुनासो छ ।
सरकारले कोरोना संक्रमितको उपचार गर्नबाट हात उठाएपछि तामाङ थरका पुरुषको मृत्यु भएको तीन दिनसम्म शव नउठेको हो । तामाङको अवस्था गम्भिर बनेपछि भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको थियो । संक्रमितको उपचारमा कुनै कसर बाँकी नराखेको बताउँदै उनले उपचारमा लागेको शुल्क तिर्नुपर्ने बताए ।
७ कात्तिकमा देशवासीका नाममा सम्बोधन गर्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनरक्षा गर्नु सरकारको सबैभन्दा पहिलो काम भएको भन्दै कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताएपनि निजी अस्पतालहरुले मानिरहेका छैनन ।