नानी बिवु फाउण्डेसनमा पराजुली

काठमाडाैं । नानी बिवु फाउन्डेसनको विशेष भेला तथा अधिवेशनले कृष्णप्रसाद पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । साहित्यकार गोबिन्दराज बिनोदीको प्रमुख आतिथ्यतामा बसेको भेलाले पराजुलीकाे नेतृत्वमा कार्यसमिति चयन गरेकाे हाे ।
नयाँ चयन भएकाे कार्यसमितिमा दीपेन्द्र पौडेल, शंकरनाथ आचार्य, अमृतकान्त पण्डीत, विवेकबाबु अधिकारी, शान्ती शर्मा, लेखराम सापकोटा, सबिता तिवारी र संगीता दवाडी अधिकारी क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यमा निर्वाचित भएका छन् ।
दुराडाँडा, लमजुङमा जन्मिएर हाल गैंडाकोट–४, नवलपुरमा बस्दै आउनुभएकी स्रष्टा नानी बिवुको साहित्यिक उन्नयनमा थप सहयोग पुर्याउने उदेश्यले ०७७ असोज ११ मा विधिवत् रुपमा दर्ता भएको नानी बिवु फाउन्डेसनको यो पहिलो अधिवेशन हो । गत वर्ष मात्र नानी बिवुको पहिलो उपन्यास अनुक्रोश प्रकाशित भएको थियो ।
‘निकै सह्रानीय कार्य भएको छ। नानी बिवु जस्ता बिलक्षण प्रतिभा भएका स्रस्टाहरुको पहिचान गरी प्रेरण प्रदान गर्न यस संस्थाले उल्लेख्य भुमिका खेल्नेछ र यस संस्थालाई देश विदेशमा समेत चिनाउनु पर्नेछ’ कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि गोविन्द राज विनोदीले भन्नुभयो।
नानी बिवु दुराडाँडा लमजुङ अनि गैंडाकोट नवलपुरको मात्र नभई यो राष्ट्रको शान हो। नानी बिवु फाउन्डेसन खोलिएकोमा हामी सबैले गौरव गर्नुपर्ने कुरा विशिष्ट अतिथि प्राडा रामेश्वर अधिकारीले बताउनुभयो ।
अनुक्रोश उपन्यासकी स्रस्टा नानी बिवुले आफ्नो नामबाट ‘नानी बिवु फाउन्डेसन’ खोली आफूलाई सम्मान दिएको भन्दै सबैप्रति आभार प्रकट गर्दै यस संस्थाले नानी बिवु जस्ता शारीरिक कमजोरी भईकन विलक्षण प्रतिभा भएका सबै सर्जकहरुको हितमा काम गरोस् भन्दै शुभकामना दिनुभयाे ।
तदर्थ समितिको प्रतिनिधित्व गर्दै तदर्थ समितिका सदस्य जगन्नाथ पण्डितले शुभकामनाका साथसाथै खुशी व्यक्त गर्नुभयो।
त्यस्तैगरी, कार्यक्रममा बोल्दै नानी बिवु फाउन्डेसन खोल्नुको कारण र यसका उदेश्यमाथि तदर्थ समितिका सदस्य तथा विधान निर्माण समितिका संयोजक कृष्णप्रसाद पराजुलीले प्रकाश पार्नुभयो ।
नानी बिवु फाउन्डेसनका तदर्थ समितिका अध्यक्ष दिपेन्द्र पौडेलले अनुक्रोश उपन्यासको प्रकाशक बिएन पुस्तक संसारका प्रोप्राइटर सूर्य बिसीलाई सम्झदै उहाँले ल्याएको परिकल्पना, सल्लाह र सुझावलाई आत्मसाथ गर्दै संस्था यहाँसम्म आइपुगेको भन्दै संस्थाको ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्नुभयो ।