लमही नगरपालिका र अस्पताल ७ दिनका लागि बन्द

दाङ । लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको हो ।
अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आकाश बेल्बासेले जानकारी दिनुभयो ।
यसैगरी, जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ । यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराउनुभएको छ ।