अब काेराेना परीक्षण र उपचार निःशुल्क !

काठमाडौं । कोरोना परीक्षण तथा उपचारमा शुल्क लिने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ । कोरोनाको उपचार र परीक्षण निःशुल्क गर्नु भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले गरेको पुनरावलोकन पनि सर्वोच्चले खारेज गरिदिएको हो ।
सर्वोच्चका न्यायाधीश न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सरकारको पुनरावलोकन निवेदन खारेज गर्ने फैसला गरेको हो ।
केही दिनअघि सर्वोच्चले कोरोनाको परीक्षण र उपचारमा सर्वसाधारणबाट शुल्क नलिन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेश सरकारले नमानेपछि अधिवक्तद्वया लोकेन्द्र ओली र केशरजंग केसीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । अपहेलनाको मुद्दाको फैसला नआउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको तर्फबाट कात्तिक १७ गते पुनरावलोकन निवेदन गरेको थियो ।
सरकारको माग अनुसार पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला भएकाले अबदेखि कोरोना परीक्षण र उपचारवापत सरकारले कुनै शुल्क लिन नपाउने भएको छ ।