ग्लोबल बैंकद्वारा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात

भोजपुर/धनुषा । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ३१ पुगेको छ ।
बैंकले भोजपुर जिल्लाको सदानन्द गाँउपालिका वडा–११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा इन्दिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा–७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ग्लोबल आइएमई बैंकले ति स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बैंकले जानकारी दिएकाे छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २ सय ६१ शाखा सञ्जालसहित २ सय ३७ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना २१ लाखभन्दा बढी ग्राहकमा सेवा प्रदान गर्दै आइरहेको छ ।