प्रम ओली भन्दै तस्बिर भाइरस बनाइएका साह काे हुन् ?

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ । राजा वीरेन्द्रसँग टीका थाप्ने व्यक्ति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भएको टीकाटिप्पणी निकै भए । तर राजासँग टीका थाप्ने ती व्यक्ति पर्साको वीरगञ्ज उपमहानगरपालिका अलौका जनकलाल साह हुन् ।
उनले बुधबार आफू सामाजिक सञ्जालमा भाइरल भइरहेको थाहा पाए । कसले हाल्यो र कसरी भाइरल भयो भन्ने उनले पनि पत्तो पाएनन् । फोटो भाइरल त भयो तर फोटोलाई प्रधानमन्त्रीको भनेर गिज्याइरहेकोले आफूलाई ठिक नलागेको उनी बताउँछन् । साह नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जका अध्यक्ष छन् र उनी आफूलाई राजसंस्थाप्रति समर्पित व्यक्ति ठान्छन् ।
राजा वीरेन्द्रसँग खिचेको माथिको दशैंकाे तस्बिर २०५१ सालको भएको उनले बताए । त्यस दिन आफूले राजा वीरेन्द्रसँग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि टीका थापेको पर्सिपल्ट ११ बजे भेट्ने अवसर पाएको उनको भनाइ छ । राजा वीरेन्द्रसँग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउँछन् ।