स्वास्थ्य जाेखिमका कारण बजारमा चहलपहल घट्याे

काठमाडौं । कोराेना संक्रमणको जोखिम कम गर्न जारी गरिएको लकडाउन खुकुलो भएपछि जनजीवन केही सहज बन्दै गएपनि चाडपर्वहरुमा चहलपहल देखिएकाे छैन । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन ।
व्यवसायीहरु विगत वर्षहरुभन्दा आधा बढीले व्यापार कम भएको बताउँदै आएका छन् । तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसमा उत्साह छैन् । कोराेनाका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् । विगत वर्षहरुभन्दा यो वर्ष तिहारको किनमेल आधाभन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् ।
भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरु नआएको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको छ । यद्यपी विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो ।
तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगत जस्तो छैन । आधाभन्दा बढीले व्यापार घटेको व्यवसायीहरूकाे भनाइ छ ।