Logo बैशाख २, २०७८ बिहीबार


पिपलबोटदेखि पिपलबोटसम्म

-जयदेव भट्टराई

वि.सं १९९९ साउन १९–वि.सं २०७४ माघ १९ देखिसाध्य छैनन सहरमा मान्छे । ओहोर दोहोर, आवत जावत छिचोलिनसक्नु नयाँसडकको बाटो नटेक्ने कमै होलान । त्यतिबेलाको नयाँसडकको पहिचान नै अलग थियो । साहित्यकार, कलाकार, पत्रकार, राजनीतिमा लागेकाहरू सबका सबै भेला हुने थलो थियो नयाँसडकको पिपलबोट ।

साँझ नपर्दै जम्मा हुँदै जान्थे र आ–आफ्ना समूहमा बाँधिदै गफिन थाल्थे । नयाँ छिमलका र बाहिरबाट आएकाहरूका लागि सहज थियो वातावरण आफन्त, इष्टमित्र भेट्ने र नाम चलेका साहित्यकार चिन्ने । नजीकै रहेको गोरखापत्र संस्थानका प्रकाशनहरूमा पनि प्राय भेटिन्थे अनेक थरी साहित्यकार । त्यतिबेलाको समय नै बेग्लै प्रत्यक्ष भेटघाट र चिनाजानी, अहिलेजस्तो फेसबुक र इमेलको चलन पनि त थिएन । भेटेपछि मनप¥यो भने मनले नै लाइक गर्यो, नाम सुनेर पनि अनुहार नचिनिएका अनेकौँ साहित्यकार हुन्थे । जसको रचनामात्र पढेर अनुहार कल्पना गर्नुपथ्र्यो । कसैले फलानो साहित्यकार भनेको उहाँ नै हो भनेर टाढैबाट चिनाइदिदा पनि ठूलै कुरो हुन्थ्यो ।

त्यतिखेरको समय नै फरक । वातावरण पनि बेग्लै थियो बढी आत्मीय लाग्थ्यो । साहित्यकारहरूलाई प्राय भेट्ने थलो हुन्थ्यो–नयाँसडक पिपल बोट, गोरखापत्र संस्थान, साहित्यकार विमल निभाको पुस्तक पसल साहित्यघर, भोटाहिटीको किताब पसल, मदन पुरस्कारगुठीको कार्यालय, रत्नपुस्तक भण्डारआदि । चालीसको दशकको मध्यतिर मधुपर्कको कार्यकक्षमा सम्पादक कृष्णभक्त श्रेष्ठसँग गफिरहेका एकजना नपत्याउँदो अनुहारका मान्छेलाई कृष्णभक्त दाइले सम्मानसाथ कुराकानी गरिरहेको देख्दा आश्चर्य लागेको थियो । एकतमासले नौलो मान्छेलाई हेरिरहेको देखेपछि कृष्णभक्त दाइलाई अप्ठेरो लागेपछि सोध्नुभयो–‘चिन्नुभएन उहाँलाई ? उहाँ मनु ब्राजाकी ।’ लामो समयदेखिको जिज्ञासा त्यतिखेर शान्त भयो, मनमनै धन्यवाद दिएँ लामो समयदेखि सुन्दै आइरहेको र चिन्न खोजिरहेको एउटा प्रिय साहित्यकारलाई प्रत्यक्ष भेट्न पाउँदा । महोत्तरीको औरहीमा बसेर लामो समयदेखि निरन्तर लेखिरहने धेरैका प्रिय र मेरा पनि प्रिय लेखक, अझ भनौं कथाकार मनु ब्राजाकीसँगको पहिलो साक्षात्कार थियो मेरो ।

थप आश्चर्यको कुरा त के भने पहिलो भेटमै मनु ब्राजाकीले भनिहाल्नुभयो, एकैछिन बसौं सँगै बाहिर निस्कौँला । केहीबेरमा उहाँकै पछि लागेर बाहिरिन्छु । जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि भनेजस्तै काठमाडौँको घाम(रवि) पनि नछिर्ने गल्लीको बाटो हुँदै एउटा भट्टीमा आसन जमाएपछि थप परिचय र भलाकुसारी थालिन्छ ।

‘तपाई त सानो हुनुहुन्छ, लिनुहुन्न होला, आफ्नो त बानी नै परिसक्यो’ भन्दा नभन्दै झोल र ठोस पदार्थ टेबुलमा आइसक्छन्, नियमित ग्राहकले के खान्छन् भन्ने कुरा अर्डर नलिइकनै थाहा पाइहाल्छन् साहुजी–साहुनीहरू भन्ने कुरा शायदै त्यतिखेरै जानें मैले । म उहाँको अगाडि आफ्नो फाइल तेस्र्याउदै भन्छु– दाइ मैले साहित्यकारहरूको विवरण सङ्कलन गर्दै आइरहेको छु, तपाईंकै हस्ताक्षरमा तपाईको विवरण र मन्तव्य लेखिदिनुस भनें । हो यही भेटबाट शुरु भयो हाम्रो निकटता, उमेर, लेखनले धेरै फरक भए पनि उहाँको सरलता र निकटताले यतिसम्म भनेको हुँ । गोरखापत्र संस्थानसँग उहाँको निकट सम्बन्ध थियो, उहाँको मन मिल्ने र दिउसो साँझ एउटै टेबुलमा बसेर पिउने साहित्यकार मित्र सन्तोष भट्टराईको कार्यालय पनि यही थियो, त्यसमा पनि मधुपर्क, गोरखापत्रमा छापिएका र छापिन बाँकी रहेका रचनाको एकमुष्ठ पारिश्रमिक बैनाको रुपमा पाउने सुबिधा थियो उहाँका लागि । साहित्यकारहरूसँग भेट हुने र नयाँसडकको चक्कर लगाएर हरियो पर्दामा आसन जमाउन उपयुक्त थलो थियो ।

२०४५ सालको मंसिर २३ गतेको दिन मनु ब्राजाकीसँग प्रत्यक्ष भेटेको दिन अलि ‘विशेष’ नै लाग्यो र घर फर्केपछि साँझ डायरीमा लेखें उहाँसँगका भेटबारे । डायरीमा टिपेको यत्ति हो नटिपेका तर मनमा रहिरहेका अनेकौँ संस्मरण छन् जसलाई चाहेर पनि बिर्सिन सकिदैन । लेखन र व्यवहारमा दरिलो लाग्ने उहाँ खाने पिउने कुरामा कमजोरै हुनुहुन्थ्यो । यही बानीले उहाँलाई धेरै बाँच्न दिएन । आफैंले पनि यस सन्दर्भमा धेरै पटक उल्लेख गरिसक्नुभएको छ । पढ्दा रक्सी खाने बानी लागेको उहाँलाई पछि रक्सी पिउने बानी लाग्यो । र यही पिउने बानी नै पछि प्रिय हुन थाल्यो र साथमा चुरोटको अम्मलले पनि छाडेन । यही अम्मल र लतले गर्दा नै होला डेढ दशकको अस्वस्थता (मस्तिष्कघात र उच्च रक्तचाप) ले ७५ वर्षको उमेर पनि पूरा नहुँदै २०७४ सालको माघ १९ गते उहाँको निधन भयो । दिन बित्दै धेरै वर्ष भएछ, उहाँलाई भेटेको तीन दशक भएछ, समय प्रवाहमा उहाँलाई पहिलोपटक भेटेको उही मधुपर्कको कक्षमा बसेर उहाँकै स्मृतिमा कलम चलाइरहेको छु । गोरखापत्र संस्थानको परिसरमा पहिलोपटक भेटिनुभएका उही मान्छेलाई तीन दशकपछि सोही ठाउँमा भेट हुँदा मनु ब्राजाकी धेरै गलिसक्नुभएको थियो । कसैको साथ लिएर गोरखापत्रको चार तला उक्लिदा थकित भइसक्नुभएको उहाँ यति छिटै जानु होला भन्ने पटक्कै लागेको थिएन र यो पनि लागेको थिएन त्यति बेलैको भेट नै अन्तिम हुनेछ भनेर । भरेङ्गमै छेउ लागेर उहाँको भैसेपाटीस्थित घरमा भेटेर कुराकानी गर्ने र उहाँको बारेमा लेख्ने कुराको तय पनि भएको थियो । सोचेजस्तो कहाँ हुँदो रहेछ र चाहे जस्तो कहाँ हुँदोरहेछ र ?

उहाँको सरलताका कुराका अनेकौँ अनुभव सँगाल्न पाएको छु । महोत्तरीको एउटा कुनामा बसेर राजधानीमा चर्चाको शिखर चढ्ने क्षमता थियो उहाँमा, लेखनको बलले नै हो शिखर आरोहण गरेको । हामी त राजधानी बाहिरका मान्छे हाम्रो रचना कसले छाप्छ, कसले चिन्छ ? जस्ता कुरा नगरी लेखनको बलले नै राजधानीलाई चुनौती दिदै लेखेरै शिखर चढ्नुभएको हो उहाँले । लेखन कलमले चिनिने कुरा हो भूगोलले होइन भन्ने कुराको राम्रो उदाहरण हो उहाँ । बरु यत्तिसम्म भन्दा हुन्छ मनु ब्राजाकीको साहित्यिक जग र चुलिएको चर्चा महोत्तरीको भूमिमै हो । पछिल्ला समय काठमाडौँ, ललितपुर अमेरिका उहाँका वासथलो भए ।

अञ्चल साप्ताहिक पत्रिकामा वि.सं २०१९ सालमा उहाँको पहिलो रचनाको रुपमा ‘भर्याङ’ शीर्षकको कथा छापिएको इतिहास नै सफल र सशक्त कथाकार मनु ब्राजाकीको आरम्भिक इतिहास बन्नपुग्यो । त्यहीबाट थालिएको यात्रा देशविदेशसम्म फैलिदै गयो । कथासँगै गजल विधामा पनि पछि त्यत्तिकै चर्चित बन्नुभयो । कथाकारकै रुपमा बढी चर्चा र नाम कमाउनुभएका उहाँका २०३८ सालमा अवमूल्यन, २०४२ मा आकाशको फल, २०४६ मा तिम्री स्वास्नी र म, २०५२ मा भविष्य यात्रा, २०६० मा पारदर्शी मान्छे, २०७० मा मनु ब्राजाकीका कथाहरू, अनि अन्नपूर्णको भोज जस्ता कथाका सङ्ग्रह प्रकाशित भए । गजल सङ्ग्रहहरूमा काँडाका पूmलहरू, के हो र जिन्दगी र गजलगङ्गा प्रकाशमा आइसकेका छन् ।

‘तिम्री स्वास्नी र म’ का लागि ‘साझा पुरस्कार’, ‘अन्नपूर्णको भोज’का लागि को ‘पद्मश्री पुरस्कार’लगायत मैनाली कथा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पाण्डुलिपि पुरस्कार, गंगालक्ष्मी पुरस्कारआदिबाट सम्मानित मनु ब्राजाकी नेपाली साहित्यमा धेरैले रुचाएका कथाकार र गजलकार हुनुहुन्थ्यो, सम्मानित हुनुहुन्थ्यो । वि.सं २०६० देखि स्वास्थ्य त्यति अनुकूल नभएपछि लेखनबाट टाढिदै जानुभएको थियो, यही स्वास्थ्यले दिन प्रतिदिन दुःख दिदै आखिर २०७४ सालको माघ १९ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो ।
०००
(लेखक भट्टराईको स्मृतिमा छाडेर जानेहरु कृति जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित भएको छ )

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।