Logo बैशाख १, २०७८ बुधबार


कोरोना संक्रमितलाई होटलमा आइसोलेसन सेवा

-अम्बिका खड्का ।

कोरोना महामारी नियन्त्रणका लागि लामो समय लकडाउनको सामना गरेका होटल व्यवसाय विस्तारै खुल्न थालेका छन् । होटल खुलेपनि पाहुना भने छैनन् । कोरोनाको त्रासले न घुम्न आउने पर्यटक छन् न त होटलमा गएर बस्ने पाहुना नै । करोडौँ लगानी भएका होटल व्यवसायीहरु यति बेला रुन्चे अनुहार लगाएर दिनभर ग्राहकको आगमनको पर्खाइमा बस्न बाध्य छन् ।

यता कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । सरकारी अस्पतालमा बेडको अभाव र निजी अस्पतालमा चर्को शुल्कको मारमा परेका छन् संक्रमित । कोरोना संक्रमण भइसकेपछि परिवारसँग बस्न नमिल्ने भएकाले आफ्नै घर भएकालाई त समस्या छ भने कोठा भाडामा बस्नेको अवस्था निकै दयनीय छ । संक्रमित भन्ने थाहा पाउने बित्तिकै घरभेटीले घरमा पस्न नदिने, सरकारी अस्पतालमा बेड नहुने र निजी अस्पतालको शुल्क चर्को भएकाले संक्रमितलाई थप मार परेको छ । तर कोरोना पोजेटिभ देखिने वित्तिकै कम्तीमा दुई साता आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य मापदण्ड रहेको छ । संक्रमण फैलिन नदिने राम्रो विकल्प पनि हो ।

करोडौं लगानीमा खुलेका होटलमा ग्राहक छैनन्, उता कोरोना संक्रमितलाई बस्ने ठाउँ । यहि विषम परिस्थितिलाई केही होटल व्यवसायीले भने अवसरमा बदलेका छन् । उनीहरुले कोरोना संक्रमणलाई नै अवसर मानेर संक्रमित व्यक्तिका लागि आइसोलेसनको सुविधा उपलब्ध गराउन शुरु गरेका छन् ।

‘के तपाईलाई कोरोना भाइरस पुष्टि भएको छ ? यदि छ भने आइसोलेसन रुमका लागि हामीलाई सम्झनुहोस् ।’ यो ठमेलमा अवस्थित ‘होटल ट्रेकर्स होम’ को विज्ञापन हो । व्यापारमुखी होटलको यो सेवामुखी काम निकै प्रशंसनीय छ । होटल ट्रेकर्स होमले पछिल्लो दुई हप्तादेखि कोरोना संक्रमित व्यक्तिलाई सेवा दिँदै आएको छ । ‘यहाँ कोरोनाको शंका लागेर स्वाब दिएपछि रिपोर्ट नआएसम्म बस्नेदेखि कोरोना पुष्टि भएका करिब २० जनाले सेवा लिइसकेका छन्’, होटलका प्रबन्धक सुदिव भट्टले भन्नुभयो, ‘संक्रमित व्यक्तिहरुलाई अनलाइनमार्फत डाक्टरसँग परामर्श गराउँछौँ । अर्को हप्ताबाट अनलाइनमार्फत नै योगा र ध्यानसमेत गराउने तयारी छ ।’

सेवाग्राहीबाट होटलले राम्रो प्रतिक्रिया पाइरहेको उहाँको भनाइ छ । ‘कोरोना संक्रमितलाई राख्दा शुरुमा निकै डर लाग्यो, बिस्तारै हस्पिटलमा ठाउँ नपाएर, आत्तिदै आउनु भएका संक्रमितलाई सेवा गर्न पाएकोमा गर्व महसुस हुन थाल्यो’, होटलका प्रबन्धक भट्ट भन्नुहुन्छ, ‘अहिले हामी कर्मचारी पनि सुरक्षित भएर खुशीका साथ सेवामा तल्लीन छौँ ।’ व्यापार भन्दा पनि समाज सेवाको भावना बढी आउने रहेछ, उहाँले भन्नुभयो ।

‘यदि तपाईलाई मेडिकल निगरानी सहितको आइसोलेसनको सुविधाको आवश्यकता छ भने हामीलाई सम्पर्क गर्नुहोस ।’ यो राजधानीकै बौद्धमा रहेको अर्को होटल ‘हिमालयन स्वीट’ को विज्ञापन हो । सधैँ आकर्षक सेवा सुविधाको विज्ञापन देखाएर ग्राहक बटुल्ने होटलले कोरोना संक्रमितका लागि आइसोलेसनको व्यवस्था गरेर संक्रमितलाई बोलाइरहेका छन् । हिमालयन स्वीटले पनि पछिल्लो दुई हप्तादेखि संक्रमितको सेवा गरिरहेको छ । पहिले क्वारेन्टाइनको व्यवस्था गरेको यस होटलले पछिल्लो समय संक्रमितको सेवा गरिरहेको हो । होटलको माथिल्लो तलामा संक्रमितलाई राखेर त्यसको मुनि उनीहरुको सेवामा खटिने कर्मचारी राखिएका छन् । तलबाट ती कर्मचारीसम्म बिरामीलाई आवश्यक सामाग्री पुर्याउने र ती कर्मचारीले पीपीइ लगाएर सुरक्षित भई संक्रमितसम्म पुगेर सेवा दिने गरेका छन् । सेवामा खटिने कर्मचारी पनि क्वारेन्टाइनकै अवस्थामा रहेको होटलका निर्देशक अमृत सापकोटाले जनतासमाचारलाई बताउनुभयो ।

संक्रमितका लागि अनलाईनमार्फत नै योगा, ध्यान र डाक्टरको सल्लाह सुझाव लिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । सापकोटाले व्यवसाय एकातिर भएपनि यस्तो काममा सेवाभाव बढी हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘क्वारेन्टाइनमा राख्ने काम गर्दै आएका थियौँ, अहिले आइसोलेसनको अभावमा संक्रमितलाई धेरै समस्या भएको थाहा पाएपछि क्वारेन्टाइन हटाएर आइसोलेसनको व्यवस्था गरेका हौँ ।’

आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका केही ग्राहकले होटलले दिएको सेवा सुविधाका बारेमा राम्रो प्रतिक्रिया दिएका छन् । ‘होटलमा सोचेभन्दा राम्रो सुविधा पायौँ, होटलको राम्रो सेवाकै कारण साेचेभन्दा चाँडै निको पनि भएँ,’ होटलमा बसेर निको भएका एक संक्रमित भन्छन्, ‘ कोरोना लागेको थाहा पाएपछि आफ्नाहरु नै टाढा हुने समयमा होटलले शुरु गरेको यस्तो कार्यले मानवता झल्किएको छ ।’

जोखिमलाई पनि अवसर बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् यी होटल । संक्रमित भएपछि परिवार नै टाढा हुने अवस्थामा यी होटलले सञ्चालन गरेको आइसोलेसन कक्ष व्यवसायिक हुँदा हुँदै पनि मानव सेवा पनि हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…