शुरु भएको ११ वर्षसम्म पनि सकिएन पुल निर्माणको काम

विद्यानन्द राम
राजविराज । सप्तरीकोे छिन्नमस्ता गाउँपालिका–२ स्थित छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल निर्माण कार्य शुरु भएको ११ वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन् । ठेकेदार कम्पनीको लापरबाहीले २०६६ सालमै निर्माण कार्य शुरु भएपनि अझैसम्म पुल बन्न नसक्दा हजारौं सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।
छिन्नमस्ता–२ स्थित रमपुरा र गोविन्दपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने सडक सञ्जाल हो छिन्नमस्ता–रमपुरा सडक खण्ड । छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल नहुँदा दशकौंदेखि जोखिम मोलेरै सर्वसाधारण नदी वारपार गर्दै आएका छन् । २०६६ सालमा एक करोड २५ लाखमा टेण्डर प्रक्रिया सम्पन्न भएर पुल निर्माण कार्य शुरु भएसँगै सडक सञ्जालमा जोडिने सर्वसाधारणमा आशा पलायो । तर निर्माण शुरु भएको ११ वर्ष बितिसक्दा समेत निर्माण कार्य पूरा हुन नसक्दा सर्वसाधारण पुनः निराश हुन थालेका छन् ।
नदीमा पुल निर्माणका लागि आशिष निर्माण सेवाले ठेक्का लिएपनि पुलको काम अलपत्र छोडेर गायब भएपछि झण्डै तीन हजारको बसोवास रहेको गाउँका सर्वसाधारणको समस्या ज्यू का त्यू नै रहेको उनीहरुको दुखेसो छ । ठेकेदार कम्पनीको लापरवाहीले पुल बन्न नसक्दा गाउँका गर्भवती महिलालाई सुत्केरी गराउँन र कोही बिरामी पर्दा पनि बोकेरै नदी वारपार गर्नुपर्ने बाध्यता खेप्दै आएको सर्वसाधारण बताउँछन् । उनीहरुले ठेकेदार कम्पनी गायब भएपछि अलपत्र परेको पुल निर्माण कार्यतर्फ जनप्रतिनिधिले पनि ध्यान नदिएको गुनासो गरेका छन् ।
यता जनप्रतिनिधिले सर्वसाधारणको समस्या सामाधान गर्नका निम्ति पुल निर्माणको ठेक्का पाएका कम्पनीसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको बताएका छन् । गाउँपालिकामा सल्लाह गरेर कानुनी प्रक्रिया अपनाएर अधुरो पुल निर्माण कार्य अघि बढाउने वडाध्यक्ष चुनचुन साहको भनाइ छ ।