संसदीय सुनुवाइ समितिका सदस्यलाई कोरोना, राजदूत नियुक्तिमा ढिलाइ

काठमाडौं । सांसद र संसद् सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएपछि संसदीय समितिका काम प्रभावित बनेकाे छ । अहिलेसम्म एक पूर्वप्रधानमन्त्री र तीन मन्त्रीसहित दुई दर्जनभन्दा बढी सांसदमा कोभिड–१९ पुष्टि भइसकेको छ।
संसदीय सुनुवाइ समितिका सदस्य पनि रहेका दुई सांसदमा कोरोना भाइरस देखिएपछि समितिमा ब्रिटेन र अमेरिकाका लागि प्रस्तावित राजदूतको अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन। समितिका सभापति लक्ष्मणलाल कर्णले केही सदस्य सङ्क्रमित भएपछि प्रस्तावित राजदूतहरूको अनुमोदनका लागि समितिको बैठक कार्तिक २७ गतेका लागि तय गरेको जानकारी दिनुभएकाे छ । समितिमा १५ सदस्य छन्। तीमध्ये सङ्क्रमण देखिएका देव गुरुङ र निरुदेवी पाल अहिले संक्रमणमुक्त भइसक्नुभएकाे छ।
‘नेकपाका गुरुङजीले रिपाेर्ट नेगेटिभ आए पनि अझै अस्वस्थ रहेकाले केही दिन पर्खिन भनेकाले त्यति बेलासम्म उहाँहरू पनि ठिक भइसक्नुहोला भनेर हामीले कार्तिक २७ गते बैठक राखेका हौँ’, कर्णले भन्नुभयो।
सङ्घीय संसद्को कार्य सञ्चालन नियमावलीका अनुसार सुनुवाइका लागि सिफारिस भएको ४५ दिनभित्र समितिले अनुमोदन वा अस्वीकृत गरेर निर्णय दिइसक्नुपर्ने व्यवस्था छ। कर्णका अनुसार समितिले यस अवधिमा अर्थात् मंसिर २ गतेसम्म पनि निर्णय दिन नसके सरकारले प्रस्तावित गरेका व्यक्तिको स्वतः नियुक्तिको बाटो खुल्नेछ।
सरकारले गत असोज १५ मा तात्कालिक मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै उहाँलाई ब्रिटेन र भूतपूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।