पहिलो पटक गाउँ–गाउँ पुगेर बजार अनुगमन

आशिष बहादुर सिंह
बझाङ । घरेलु तथा साना उद्योग विकास कार्यालयबाट जिल्लाका गाउँगाउँ पुगेर पहिलो पटक अनुगमन भएको छ । चाडपर्वका बेला हुन सक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रणका लागि बझाङमा साना तथा ठूला बजारमा अनुगमन गरिएको हो ।
यसअघि सदरमुकाम चैनपुरमा मात्र हुने अनुगमन यस वर्ष भने जिल्लाका सबै बजारमा गरिनेभएको छ । विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । अखाद्य वस्तुको बिक्री वितरण रोक्ने, म्याद नाघेका वस्तुको बिक्री वितरण रोक्ने र खाद्य अधिकार लगायत राजश्व चुहावट रोक्नका लागि व्यापारी तथा उपभोक्तालाई जागरुक बनाउन बजार अनुगमन गरिएको उद्योग विकास अधिकृत खडक बोहराले बताउनुभयो ।
अनुगमनका क्रममा मिठाई, चाउचाउ, चिउरा, बिस्कुट, तेल, खानेपानी ,पिठो, दाल, मद्यिरा, चिसो पिय पदार्थ, मसलालगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा धेरै पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको र मदिरा इजाजतपत्र नलिइ मदिरा बिक्रीवितरण गरेको पाइएको बताइएको छ ।
त्यस्तै धेरै जसोमा मूल्य सूची र साइन बोर्ड पनि नराखेको पाइएकाले मूल्य सूची राख्न र साइन बोर्ड बनाउन लिखित निर्देशन दिएको जिल्ला घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख बोहराले जानकारी दिनुभयो । कार्यालय प्रमुख बोहराका अनुसार कालोबजारी गर्नेलाई अहिले पहिलो पटक अनुगमन गरिएको हुदाँ सुझाव दिने र दोस्रो पटक कालोबजारी गरेको पाइएमा कारबाही गरिने छ ।
बजार अनुगमनका लागि घरेलु तथा साना उद्योग विकास कार्यालय उद्योग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला सदरमुकामका पसलमा मात्रै नभएर ग्रामीण क्षेत्रमा रहेका पसलमा पनि अनुगमन गरेको छ । अनुगमनलाई अझै नियमित गर्न स्थानीयबासीले माग गरेका छन् । चाडपर्वका बेला मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने स्थानियको भनाई छ । बजारमा किन्ने सामग्रीमा उत्पादन मिति र उपभोग्य मितिका विषयमा सचेत रहन अनुगमन टोलीले आग्रह गरेको छ ।