हेल्पकोडद्धारा विद्यालयलाई भान्छाघर हस्तान्तरण

चितवन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ ।
मंगलबार आयोजना गरिएको कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीका लागि खाजा पकाउन निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन प्ररित गरेको बताउनुभयो ।
प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने बताउँदै उहाँले आगामी दिनमा पनि सहयोगकाे अपेक्षा गर्नुभयो । साथै, उहाँले विद्यार्थीका लागि खाजा पकाउने भान्छा नहुँदा बाहिरै पकाएर खुवाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै हेल्पकोड नेपाललाई धन्यवाद समेत दिनुभएको छ ।