चितवनमा देउसीभैलो खेल्न नपाइने

चितवन । जिल्लाले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत देउसीभैलो खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको हो ।
चौध बुँदे योजना अन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूद लगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
उहाँले आवागमन तथा जमघटले संक्रमणकाे उच्च जोखिम हुने भन्दै एकाघरमा बसेर पर्व मनाउन समेत आग्रह गर्नुभएकाे छ ।